सामाजिक सञ्जालमार्फत पुँजीबजारलाई प्रभावित पार्ने इन्फ्लुयन्सर्सको नियमन हुने

२०८३ असार ३० गते

सामाजिक सञ्जालमार्फत पुँजीबजारलाई प्रभावित पार्ने इन्फ्लुयन्सर्सको नियमन हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो समय सामाजिक सञ्जालमार्फत पुँजी बजारलाई प्रभावित पार्ने इन्फ्लुयनसर हरूको सक्रियता बढेको जनाएको छ । त्यस्ता इन्फ्लुयनसरहरुलाई नियमनको दायरमा ल्याउने बोर्डले बताएको छ । 

पुँजी बजारको सुधार र विकासका लागि आफ्ना नीति तथा कार्यक्रमका मुख्य प्राथमिकताहरू सार्वजनिक गर्दै बोर्डले भ्रामक प्रचार, अनधिकृत लगानी परामर्श र वित्तीय ठगी रोक्न बोर्डले प्रभावकारी नियामकिय निगरानी बढाउने उल्लेख गरेको छ ।

Advertisement:

Ad
Ad

यस्तै  प्रिआईपीओको नियमन पनि गर्ने भएको छ । बोर्डले आगामी आर्थिक वर्ष २०८३८४ को नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ८ बुँदे कार्ययोजना बनाएको छ ।

धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझका लागि अन्तर–निकाय समन्वयलाई प्रभावकारी बनाउने, आईपीओलाई थप व्यवस्थित र वस्तुपरक बनाउन कम्पनीहरूको वित्तीय तथा व्यवस्थापकीय पक्षको बस्तुपरक अध्ययन गरी अनुमति दिने जस्ता विषयलाई बोर्डले  प्राथमिकतामा राखेको छ ।  

यस्तै म्युचुअल फण्डको लक–इन अवधि र बाँडफाँट सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्ने र बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने जस्ता विषय प्राथमिकतामा रहने बोर्डले जनाएको छ ।

बोर्डबाट मार्जिन कारोबार सम्बन्धी निर्देशिका जारी भैसकेकोमा उक्त कारोबारको कार्यान्वयनको अवस्था तथा सो सञ्चालनमा केही सीमितता देखिएमा बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लिरिङ, तथा धितोपत्र दलाल व्यवसायी बीच समन्वय कायम गरी यथाशीघ्र सञ्चालन गर्ने पनि बताइएको छ । 

सूचीकरण पश्चात्‌को कारोवारमा हुने धितोपत्रको माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको लकइन अवधि र बाँडफाँट सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने र  लगानीकर्ताहरूको कारोबार लागतमा कमी ल्याउने गरी प्राथमिक तथा दोस्रो बजार शूल्कमा पुनरावलोकन गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।