फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन

२०८० चैत २५ गते

फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन

काठमाडौँ  । एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा आइतबार भएको फाइनल खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई १८ रनले हरायो ।

जितका लागि एक सय ७७ रनको लक्ष्य पछ्याएको घरेलु टोली गुजरात निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५८ रनमा समेटियो । गुजरातका लागि कप्तान उमङ्ग रोहित कुमारले २८ बलमा सर्वाधिक ४० रन बनाए ।

Advertisement:

Ad
Ad

यस्तै आर्य देसाईले ३६, रुद्रमयूर पटेलले १७ र जयमित पटेलले १५ रन बनाए । बलिङमा नेपालका अविनाश बोहोराले तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र कुशल मल्लले एक एक विकेट झारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७४ रन बनाए । यस्तै आशिफ शेखले ३४, कुशल मल्लले अविजित ३१, कुशल भुर्तेलले २१ र दीपेन्द्रसिंह ऐरीले सात रन बनाए  ।

बलिङमा गुजरातका जयमति पटेल, सेन पटेल, तेजास पटेल र जाला युजराजसिंहले एक एक विकेट लिए । नेपाल गुजरातमाथि ह्याट्रिक जित निकालेको हो । लिग चरणमा नेपालले गुजरातलाई आठ विकेट र आठ रनले हराएको थियो ।

नेपालले बरोडा क्रिकेट सङ्घलाई २७ रन हराएको नेपाल लिग चरणको अन्तिम खेलमा बरोडासँग ३७ रनले पराजित भएको थियो । गुजरात बरोडालाई पाँच विकेट र ५७ रनले हराएर फाइनलमा नेपालसँगको भिडन्त पक्का गरेको हो ।