पाठेघरको सालसम्बन्धी जटिल अवस्थामा रहेकी महिलाको सफल शल्यक्रियामार्फत प्रसुती

२०८२ पुस ०९ गते

पाठेघरको सालसम्बन्धी जटिल अवस्थामा रहेकी महिलाको सफल शल्यक्रियामार्फत प्रसुती

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालमा पाठेघरको सालसम्बन्धी जटिल अवस्थामा रहेकी महिलाको सफल शल्यक्रियामार्फत् प्रसूति गराइएको छ ।

पाठेघरको मुख तथा भित्तामा साल टाँस्सिने  र टाँस्सिएको साल पाठेघरको मांसपेसी छेडेर बाहिर निस्कने दुवै समस्या भएकी महिलाको सफल शल्यक्रियामार्फत् प्रसूति गराइएको हो । मातृमृत्युदर उच्च रहने यस्तो केस दुर्लभ अवस्था हो ।

Advertisement:

Ad
Ad

अस्पतालकी प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख प्राडा अचला वैद्य नेतृत्वको टिमले गत मंसिर १२ गते नेपालगन्जकी महिलाको सी–सेक्सनमार्फत् प्रसूति गराएको हो । आमा र बच्चा दुवैको अवस्था सामान्य भएपछि बिरामी डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ ।

शल्यक्रियामा डा वैद्यसहित प्राडा अमृता गिरी, डा. सुरेश कायस्थ र डा. सविना अर्याल थिए भने एनेस्थेसियामा डा. प्रज्वल श्रेष्ठ, डा. सुरेश लामिछाने र डा. विनोद तिमल्सिना संलग्न थिए ।

सामान्य गर्भावस्थामा शिशु निस्किएपछि साल निस्कने गर्छ । तर, नेपालगन्जकी महिलामा भने पाठेघरको मुखमा साल टाँस्सिने  र टाँस्सिएको साल पाठेघरको मांसपेसी छेडेर बाहिर निस्कने जटिल समस्या थियो । साल पिसाबथैलीमा समेत फैलिएको  थियो । यस्तो अवस्थामा नर्मल डेलिभरी गराउन सम्भव हुँदैन भने सी–सेक्सन गराउँदा पनि अत्याधिक रक्तस्राव हुने जोखिम हुन्छ ।

सी–सेक्सनमा पेटको तल्लो भागमा सर्जरी गर्दा साल नै पहिले निस्कियो भने अत्यधिक रगत बग्ने र शिशु तथा आमाको ज्यानै जोखिममा पर्ने सम्भावना रहन्छ । यो अवस्था चिकित्सकका लागि पनि जटिल मानिन्छ । यस्तो अवस्थामा बिरामीलाई लामो परामर्श दिइएको डा वैद्यले बताइन् । ‘यस्तो खालको जटिल केस मेरो जीवनमै पहिलो पटक र सम्भवतः  नर्भिकमै पनि पहिलो हो,’ डा.वैद्यले भनिन् ।

 गर्भावस्थाको २० औं हप्तामा अल्ट्रासाउण्ड गर्ने क्रममा पाठेघरको मुखमा साल टाँसिएको पत्ता लागेपछि बिरामी रेफर भएर नर्भिक आएकी थिइन् । ‘यो समस्या थाहा भएपछि र फोहोर पानी बग्नेबित्तिकै  जटिल छ भनेर हामी डा. वैद्यसँग परामर्श गर्ने भनेर सिधै आयौं,’ बिरामीले भने, ‘त्यो बेलादेखि नै डा. वैद्यले यो अवस्था आउन सक्छ भनेर परामर्श दिए ।’

नर्भिक आएपछि बिरामीलाई एमआरआइ गरेर हेर्दा सालले पाठेघरको मांसपेसी छेडेर बाहिर गएको पनि पाइएको डा वैद्यले बताइन्। यस्तो अवस्थामा कि त गर्भपतन गर्ने, कि गर्भावस्था अवधिभर एकदमै संयमता अपनाउनुपर्ने हुन्छ । बिरामीका आपन्तले गर्भपतन नगरी शिशुलाई जन्माउने निर्णय गरेपछि डा. अचलाले उनीहरुलाई निरन्तर निगरानीका लागि अस्पतालनजिकै बस्न सुझाए । गर्भवतीलाई २० हप्तादेखि नै पूर्ण रुपमा बेडरेस्टमा बस्न भनिएको थियो । 

२० हप्तादेखि नियमित गर्भ परीक्षण गर्दै डाक्टरको निगरानीमा रहेकी ती महिलाको ३७ हप्तामा सी–सेक्सनमार्फत् प्रसूति गराइ आमा र बच्चाको दुवै बचाउन अस्पताल सफल भएको हो । 


डा वैद्यका अनुसार ती महिलाको यसअघि ३ पटक पाठेघरको शल्यक्रिया गरिएको थियो । पहिलो पटक पाठेघरमा मासु पलाएको उपचारपछि तीन वर्षअघि सी–सेक्सनमार्फत् प्रसूति गराइएको थियो । यस्तै दोस्रो पटक एक्टोपिक प्रेग्नेन्सी भएकाले शल्यक्रिया गरिएको थियो ।  पटक–पटक पाठेघरमा समस्या र शल्यक्रिया भएकाले गर्भावस्थामा सालसम्बन्धी जटिल समस्या देखिएको डा वैद्यले बताइन्।