२०८३ साउन ०४ गते
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बलियो अंकले उकालो लागेको छ। लगातार पाँचौँ कारोबार दिन हरियाली कायम राख्दै बजार १९ कारोबार दिनपछि पुनः २७०० विन्दुमाथि पुग्न सफल भएको हो। सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा बन्द भएको छ।
बजारको सकारात्मक लयसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ५७ करोड रुपैयाँमा सीमित रहेको कारोबार सोमबार बढेर ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा ३४३ कम्पनीका १ करोड २२ लाख ४५ हजार कित्ता शेयर ६७ हजार १५५ पटक किनबेच भएका छन्।
यस दिन एभरेष्ट कलर लिमिटेडको शेयर सकारात्मक सर्किटमा कारोबार हुँदै प्रतिकित्ता ४८ रुपैयाँ ५० पैसा बढेर ३७२ रुपैयाँ ४० पैसामा अन्तिम मूल्य कायम भएको छ। त्यस्तै, रिज लाइन इनर्जीको शेयर मूल्य १४.५ प्रतिशतभन्दा बढी र श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको करिब ११ प्रतिशतले उकालो लागेको छ। विपरीत, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै ६.८६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको २९ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि रिलायन्स स्पिनिङ मिल्सको करिब २४ करोड ५० लाख रुपैयाँ र रिडी पावर डेभलपमेन्टको २० करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
प्रतिक्रिया