नेप्से परिसूचक ५७.०३ अंकले घटेर २६ सय विन्दुभन्दा तल झर्यो, कारोबार रकममा पनि गिरावट

२०८१ भदौ ३१ गते

नेप्से परिसूचक ५७.०३ अंकले घटेर २६ सय विन्दुभन्दा तल झर्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौँ । यस हप्ताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । आइतबार ५०.५९ अंकले घटेको नेप्से परिसूचक घटाईलाई निरन्तरता दिँदै आज सोमबार ५७.०३ अंकले घटेको छ।  यससँगै आज नेप्से परिसूचक २५८०.७६ विन्दुमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः २.१६ प्रतिशतले घटेको छ ।

सोमबार नेप्सेका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक घटेको छ । यस दिन सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स रह्यो जसको परिसूचक ५.६६ प्रतिशतले घटेको छ । त्यस्तै सबैभन्दा कम घट्ने उपसमूहमा म्युचुवल फण्ड रह्यो जसको परिसूचक १.१७ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad

बजारमा ठूलो गिरावट आए तापनि सोमबार दुई कम्पनीको शेयर भने सकारात्मक सर्किटको लेभलमा कारोबार भएको छ ।  यस दिन आत्मनिर्भर लघुवित्त र हिमालयन हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सर्वाधिक घट्नेमा गुडविल फाइनान्स रह्यो जसको शेयरमा ९.९१ प्रतिशतको गिरावट आएको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज भने ३१२ स्टकको ९२ हजार ८ सयर १५ पटकको कारोबारमा ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको एक करोड ७० लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १४ वटा कम्पनीको शेयर बढेको छ भने २२७ वटा कम्पनीको शेयर घटेको छ । त्यस्तै तीन वटा कम्पनीको शेयर भने स्थिर रहेको छ ।

सोमबार सर्वाधिक रकमको कारोबार गर्नेमा सीइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रह्यो जसको ३१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयर रह्यो जसको ५ लाख ७७ हजार कित्ता शेयर किनबेच भएको छ ।