‘नेपाल ग्रेलिस्टमा पर्छ भन्ने डरले केहीपनि खुकुलो नहुने हो भने व्यापारी डुब्छन्’ (भिडियोसहित)

२०८१ माघ २४ गते

‘नेपाल ग्रेलिस्टमा पर्छ भन्ने डरले केहीपनि खुकुलो नहुने हो भने व्यापारी डुब्छन्’ (भिडियोसहित)

काठमाडौ । देशको अर्थतन्त्र सहज अवस्थामा नभएको टिप्पणी भइरहेको बेला सरकारले धमाधम अध्यादेश मार्फत कानुनहरु ल्याइरहेको छ । कतिपयले यसलाई सरकारले अर्थतन्त्रको तथा व्यवसायको आवश्यकता बुझेर चालेको कदम भनेका छन् भने कतिपयले संसद छलेर अध्यादेश ल्याउन नहुँने तर्क गरेका छन् ।

अहिले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएपनि आन्तरिक अर्थतन्त्र अझै पनि सकस छ । बैंकमा पर्याप्त तरलता छ तर ऋण लिनेहरुमा विश्वास छैन । अर्कोतर्फ अर्थतन्त्रमा मन्दी ल्याउने एउटा कारण मानिएको घरजग्गा व्यवसायमा पछिल्लो महिना केही सुधार देखिएपनि त्यसले निरन्तरता पाउनेमा व्यवासायीहरु नै ढुक्क छैनन् । एउटा व्यवसायीको नजरमा देशको अर्थतन्त्रको वर्तमान अवस्था, अध्यादेशले दिएको सन्देश, घरजग्गा कारोबार लगायतका विषयमा केन्द्रित रहेर बाणिज्यपोष्ट डटकमले नेपाल चेम्बरअफ कमर्शका बरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रासँग गरेको कुराकानीको सम्पादित अंश :

Advertisement:

Ad
Ad

तपाई लामो समयदेखि सक्रिय व्यवसाय गरेर बस्नु भएको छ ।  तपाईले देशको अर्थतन्त्र र व्यावसायिक वातावरणलाई नजिकबाट नियालिरहनु भएको हिसाबले देशको अर्थतन्त्रको अहिलेको अवस्थालाई कसरी बुझ्नु हुन्छ ?

अहिले देशको अर्थतन्त्र सहज अवस्थामा छैन । यद्यपि सरकारले अध्यादेशमार्फत पाँचवटा कानुन संसोधन गरेको हुनाले केही सहज होलाकी भन्ने हामी व्यवसायीको अनुमान छ । व्यवसायीले बर्षौदेखि माग गरिरहेको विषय सरकारले अध्यादेशमार्फत ल्याएको छ । पहिला पहिला व्यवसायी माग गरिरहने तर सरकार नसुन्ने जस्तो भएको बेला अध्यादेशले एक खालको आशा सृजना गरेको छ । यसले सरकार पनि अहिलेको अर्थतन्त्रलाई हेरेर चिन्तित छ, गम्भिर छ भन्ने सन्देश दिएको छ ।
 

देशको अर्थतन्त्रको अहिलेको अवस्था खराब छ भन्नुभयो, कुन आधारमा खराब भन्नुभएको हो ?

अर्थतन्त्र खराब हुनुको लामो कारण छ । म शुरुबाट भन्न चाहन्छु । हाम्रो देशको अर्थतन्त्रको एउटा मेरुदण्ड घरजग्गा व्यवसाय हो । जब यस व्यवसायमा मन्दी आयो त्यसकोे ‘चेन इफेक्ट’ सबैमा पर्न गयो । मेरो पनि घरजग्गामा ठुलो लगानी छ ।करिब ३ वर्ष अघि भुमि सुधारमन्त्री शशि श्रेष्ठको पालामा भुमि बर्गीकरण नसकिन्जेलसम्म कित्ताकाँट रोक्नुभयो । योजना अनुमति लिइसकेकाको पनि रोकियो । यसले घरजग्गा कारोबार ठप्प भयो जसको असर राज्यको ढुकुटीमा पनि देखियो । राज्यले पाउँने राजस्वमा निकै कमी आयो । त्यसको १० महिनापछि कित्ताकाँट खुल्यो तर कोभिड आइसकेको थियो । त्यतिबेलासम्म यो व्यवसाय निकै बिग्रिसकेको थियो । कोभिड पछि राष्ट्र बैंकले ब्याजदर घटाउँदा राहत भएपनि घरजग्गा कारोबारमा मन्दी आइसकेको थियो ।

त्यसको लगत्तै युक्रेन युद्ध शुरु भयो र यसले कच्चा पदार्थको भाउँ बढ्यो । नेपालमा डलर सर्टेज (विदेशी मुद्राको अभाव) शुरु भयो । त्यति नै बेला राज्यले १० वस्तुको आयात रोकेर गम्भीर गल्ती गर्यो । आयात प्रतिबन्ध भएपनि ति वस्तु नेपाली बजारमा छ्यापछ्याप्ती पाइने अवस्था भयो । बैधानिक च्यानलबाट ल्याउन प्रतिबन्ध लगाएको ती वस्तु नेपाली बजारमा सहजै पाउँनु भनेको कालाबजारी मौलाउँनु हो । भन्सार विन्दुबाट उठ्ने राजस्व कम भयो, तस्करी मौलायो अनि अर्थतन्त्रमा ठुलो धक्का लाग्यो । अर्कोतर्फ घरजग्गा कारोबार र सेयर बजारलाई राज्यले हेर्ने दृष्टिकोण फरक भयो । त्यस्तै सहकारीले पनि आफैले नै जग्गामा लगानी गरे । जग्गामा मन्दी आयो । भन्नेवित्तिकै जग्गा नबिक्ने भएपछि सहकारीमा बचतकर्ताको पैसा जाम भयो । सहकारीले चाहेको बेला घरजग्गा विक्रि गर्न नसकेपछि उक्त क्षेत्रनै संकटमा पर्यो ।

घरजग्गा कारोबार भनेको सबै उद्योगलाई पालेको उद्योग हो । यसले सिमेन्ट, इटा, रंग, म्यानपावर सबैलाई पालेको छ । आज देशको अवस्था राम्रो छैन । कित्ताकाट रोक्दा करिब २ खर्ब राजस्व गुमेको छ र ठेकेदारको पैसा तिर्न सरकार नसक्ने भएको छ । यहि आधारलाई लिएर अर्थतन्त्र बिग्रेको छ भन्न सकिन्छ ।

अर्थतन्त्र बिग्रनुको प्रमुख कारण जग्गा कित्ताकाँट थियो भने कित्ताकाँट खुलेपछि अर्थतन्त्रमा केही उत्साह देखिन शुरु गर्नुपर्ने होइन र ?

मैले अघि पनि भने की कित्ताकाँट खुल्नेबेलासम्म घरजग्गा कारोबार मन्दीमा गइसकेको थियो । कित्ताकाँट खुल्नु भन्दा पहिला सहकारी बिग्रिसकेको थियो । अहिले नेपालको जनसंख्याको बृद्धिदर ०.९२ प्रतिशत छ । यो भनेको २ लाख ७० हजार हो । विदेशमा काम गर्न अथवा पढ्न बार्षिक करिब १० लाख नेपाली जान्छन् । खाडी मुलुकबाट ति मध्ये ७ लाख फर्किन्छन्, ३ लाख फर्किदैनन । जनसंख्या बृद्धिदर भन्दा बाहिर जाने बृद्धिदर बढी भएकै कारण आज मोबाइल फोन, घडी, लता कपडा लगायतको बिक्रि घटेको छ । त्यतिमात्र होइन मानिसलाई नभइ नहुने आधारभुत आवश्यकताको खाद्यान्नको बिक्रि समेत घटेको छ । अहिले त खाडी मुलुक गएकाहरु त्यतैबाट यूरोपको भिसा लगाएर जाने चलन बढेको छ ।यसै कारण समग्र अर्थतन्त्र अप्ठेरो अवस्थामा पुगेको छ । अब सुचनाप्रविधि (आइटि) वैदेशिक लगानी तथा कालाबजारी जस्ता विषयलाई अध्यादेशले समेटेको छ । यसले सुधार होलाकी भन्ने आश पनि छ ।

तपाईले सबै कुरा बिग्रिसकेको छ, घरजग्गामा उत्साह छैन भनिरहदा पुष महिनाको घरजग्गा कारोबारको आँकडाले त असार यताकै बढी कारोबार भएको देखाएको छ नी ?

हो तपाइले भनेजस्तै अहिले काठमाडौमा केही चहलपहल देखिएको छ । मैले सबै सकिसक्यो अब बन्दैन भनेको पनि हैन । अत्यधिक बैंकको ऋण लिएर लगानी गरेका अरु व्यापार भनेको स्लोडाउन हुन्छ । तर रियलस्टेट स्लोडाउन हैन ठप्पै हुन्छ । तिन– तीन महिनामा ब्याज तिर्न पैसा हुदैन । घरजग्गा किन्नेहरुपनि अझ घट्छ की भनेर नकिनेर बसेका छन् । मन्दी आएको ३ बर्ष भइसक्यो । यसअघि २०५० सालमा पनि मन्दी आएको थियो तर त्यो २ वर्षपछि हट्यो । ०६७ सालमा पनि २ वर्षको मन्दी आयो । अहिले तीनवर्ष भइसक्यो । मलाई के विश्वास छ भने धेरै भए अब एक बर्ष होला नत्र अब विस्तारै घरजग्गा कारोबार बढ्छ । अहिले घरजग्गा किन्ने सही समय हो । घरजग्गाको मूल्य यो. भन्दा घट्नेवाला छैन । विस्तारै मूल्य बढ्ला बिक्रि बढेको छ । सप्लाइ बढी छ, डिमाण्ड कम भयो ।

तपाई व्यवसायीहरु कुनै बेला बढी ब्याज भयो भनेर रोइलो गर्ने अहिले ब्याजदर न्युन विन्दुमा आएको बेला बैंकमा ऋण लिन नजाने पनि देखियो । आखिर तपाईहरु ऋण लिन किन हतोत्साहित हुनुभयो ?

हो, हामी आफैले एकल अंकमा बैंकको ब्याजदर आउनुपर्छ भनेर निकै माग गर्यौ । ६ महिना अघिसम्म १५ प्रतिशतसम्म ब्याज तिर्यौ । त्यतिधेरै ब्याजमा ऋण लिएर कुनै पनि काम सफल हुदैन पनि भन्यौ । अहिले ब्याजदर एकल अंकमा आइसकेको छ तर हामीमा आत्मविश्वास छैन । नयाँ व्यवसाय गर्न चाहनेहरु बैंकबाट ऋण लिएर व्यवसाय गर्दा डुब्लाकी भनेर जोखिम लिन चाहिरहनु भएको छैन । यस्तै व्यवसाय गरिरहेकाहरु जसलाई कर्जाको खाँचो छ तर उनीहरुलाई बैंकको चालुपुँजी कर्जाका कारण ऋण प्रवाहमा समस्या भएको छ । आइएमएस समुहको कुरा गर्नुहुन्छ भने अहिले हामीले नयाँ कुनै पनि काम सोचेका छैनौ । त्यतिराम्रो प्रतिफल नदिने काम बन्द गरेर अलि राम्रो गर्न सकेको काम मात्र अगाडी बढाउँने सोचेका छौ । जसरी राज्यले अध्यादेशमार्फत राहत दिन कोशिस गर्यो त्यसरी नै नेपाल राष्ट्र बैंक लचिलो भयो भने सब ठिक हुन्छ । हाम्रोमा तालमेल मिलेको छैन । अहिलेको अध्यादेशमा धेरै ठुलो राहत घरजग्गा व्यवसायीले महशुस गरेका छन् । राज्यले नै घर बनाएर बेच्न चाहन्छन् । प्लानिङ पर्मिट लिएर घर बनाएर मान्छे बसे तर उनीहरुले आधा पैसा दिए । नामसारी हुन सकेन । घरकिन्नेहरुले नामसारी नभएसम्म पैसा तिरेनन । व्यवसायीको हालत खराब भयो । अहिलेको अध्यानदेशले त्यसलाई राहत दिन्छ । प्लानिङ गरेर घर बनाएकालाई एक पटक स्विकृति दिने भन्ने अध्यादेशमा छ । नियमावली पनि चाडै आउनुपर्छ । लगानी सम्मेलन अघि पनि कानुनमा परिवर्तन भएको थियो । आज ५ महिना भयो नियमावली आएको छैन । यो पनि त्यस्तै नहोस ।

 

नेपालको अर्थतन्त्रको टाउको दुखाइ भनेको उच्च आयात हो । तपाई व्यवासयीहरु बढी व्यापारी हुनु भयो उत्पादन तर्फ लाग्नु भएन भन्ने आरोप छ नी ?

यो भनाईलाई म खण्डन गर्न चाहन्छु । हाम्रो जस्तो देशमा उत्पादनको रटान मात्र लगाएर हुँदैन जहाँ कच्चा पदार्थ छैन सबै आयात गर्नुपर्छ । उत्पादन र निकासी चाइना जस्तो देशले गर्न सक्छ । जुन वस्तु पनि उनीहरुले उत्पादन गरेर निर्यात गर्न सक्छ । अमेरिकाले चाइनाबाट आयात गर्छ । उसले लागत बढी हुन्छ भनेर आयात गर्छ । नेपालको कुरा गर्दा सबैले उत्पादन गरौ भन्छन । तर ति उत्पादनका लागि चाहिने कच्चा पदार्थ खै ? सिमेन्ट चाहि उत्पादन गर्न सक्छौ । यो सम्भव छ । यस्तै खालका बस्तु जुन हाम्रो देशमा कच्चा पदार्थ उपलब्धता भएको छ त्यसमा मात्र उत्पादन गर्न सकिन्छ । कच्चा पदार्थ नेपालमा ल्याएर उत्पादन गरेर निर्यात गर्न असम्भव छ । हामी उर्जा तथा कृषिमा ध्यान दिउ । यसैगरी जडिबुटीमा ध्यान दिउ । केही आइटम उत्पादन गरेर आयात रोक्नुपनि ठुलो कुरा हो । नेपालमै सम्भव भएको उर्जा तथा कृषिको उत्पादन बढाउँने तर्फ तपाईहरुको संस्था (नेपाल चेम्बरअफ कमर्श) ले के योजना बनाएको छ ? कृषिमा वैदेशिक लगानी ल्याउन खोज्यौ ती लगानी आउन तयारी पनि भए तर त्यसलाई हदबन्दीले रोक्यो । संसारमा कतैपनि यस्तो हदबनदी छैन । विदेशीहरु नेपालमा आएर अनुसन्धान गरे । विदेशीले जग्गा किनेर लगानी गर्दा हदबन्दी ११ बिगाहमा कति चाहि कृषि खेती गर्ने ? उद्योग सञ्चालनमा हदबन्दी लगाउँनु हुन्न । कृषि उतपादन बढाउँन चाहन्छौ भने २/४ सय बिगाह चाहिन्छ । अनिमात्र उत्पादन गर्नसक्छ । कृषिमा केन्द्रित भयौ भने विभिन्न खालका फलफुल लगाउन सक्छौ । स्कोप छ तर नीति वाधा छ ।

तपाईको आइएमएस समुहले उत्पादन बढाउँन के गरिरहेको छ ?

कोभिड पहिला आइएमएस समुह कृषिमा जाने भनेर तयारी गर्यौ तर कोरोनाले सकिएन । अहिले सुनसरीमा २५ विगाहमा कागती खेती शुरु गरेको छु । यो खेती चौथो वर्षमा छ । अब केही आउटपुट देला । भोली कृषि चलेन भने जग्गा बेच्न खोज्दा हदबन्दी लाग्छ । कृषिमा अगाडी बढ्ने सोच छ ।आइएमएसको  जलविद्युतमा लगानी छ । टाइम्स इनर्जीले साहस उर्जासँग मिलेर काम गरेको छ । नेपालको नीजि क्षेत्रले उर्जामा गरेको लगानीमध्ये यो ३४१ मेगावाटको ठुलो हो । दोस्रो अपर भेरी ३२५ मेगावाट छ । यसमा चाहि आइएमएसले बढी सेयर लिएर काम गर्न चाहेको छ । उर्जामा निर्यातमुखी व्यापारमा जान थालेका छौ ।

 

 

नेपालको व्यावसायिक वाताबरण बनाउँन र अर्थतन्त्र तिव्र गतिमा सुधार्न के गर्नुपर्ला ?

सबैभन्दा पहिला नेपाली बच्नु पर्यो, नेपाल बच्नुपर्यो अनिमात्र अरु कुरा आउँछ अहिले नेपाल ग्रेलिस्टमा परिसक्यो भनेर डर देखाइएको छ । नेपाल ग्रेलिस्टमा पर्छ भन्ने डरले केहीपनि खुकुलो नहुने हो भने व्यापारी डुब्छन । २० करोड पर्नेे जग्गा अहिले बैंकबाट लिलामिमा १० करोडमा पाइरहेको छ । सम्पत्ति शुद्धिकरण मैले बुझेको र संसारले बुझेको एउटा छ तर हाम्रो राज्यले बुझेको अर्को छ । कालोधनलाई सेतो बनाउँनेलाई सम्पत्ति शुद्धिकरण भनिन्छ । नेपालमा कोही मानिससँग कर तिरेको १० करोड रुपैयाँ छ उसले उक्त रकम कसैलाई सापट दियो र केही समयपछि फिर्ता भयो । यसरी ब्याजमा सापट दिने र फिर्ता पाउने हुँदा उक्त रकम केही वर्षपछि बढेर मानौ सय करोड पुग्यो भने उक्त रकम बैंकमा राख्दा सय करोडको प्रमाण सम्पत्ति शुद्धिकरणले माग्छ त्यो कहाँबाट ल्याउँने ? प्रमाण ल्याउन नसक्दा उक्त रकम कसरी दुई नम्बरी भयो । यहाँको सम्पत्ति शुद्धिकरणको व्याख्या मै समस्या छ । आज यूवा पलायनको बृद्धिदर निकै माथि छ । विदेश पढेर आएको हुने खानेका छोछोरीहरु यहाँको राजस्व, सम्पत्ति शुद्धिकरण लगायतको प्रणाली देखेर छक्क पर्छन । विदेशमा पढेर आउनेहरु दिक्क भएर फेरी बाहिर जान्छन । यी सब कुरालाई मिलाउँनुपर्छ भन्ने आग्रह हो । नेपालमा कृषिमा क्रान्ति गर्न सक्छौ यूवाहरु स्वदेश फर्काउँन सकिने आधार यो पनि बन्न सक्छ ।

हामीले बारम्बार गाँजा खेतीको कुरा गर्यौ । गाँजा खेती गरेर जनतालाई लठ्ठ बनाउँने भनेका होइनौ । गाँजाको औषधी निर्यात गर्ने हो भने देशको अर्थतन्त्रको कायापलट गर्न सक्छौ ।विदेशीलाई अपार्टमेन्ट बेच्न दिने कुरा पटक पटक आयो तर कार्यविधि र नियमावली नै बनेन । उनीहरुलाई बेच्न दिन सकिने भएको भए विदेशी मुद्रा नेपालमा आउथ्यो । यदि नेपालमा विदेशीले अपार्टमेन्ट किन्न पाउने हो भने विदेशमा मार्केटिङ गर्न सक्छौ ।

 

तपाईले अघि आइएमएस ग्रुपका केही विस्तुहरु खासै चलेका छैनन त्यसलाई छोडेर चलेको प्रोडक्टतर्फ केन्द्रित हुनुपर्नेछ भन्नुभयो । के–के हुन त्यस्ता नचलेका र चलेका वस्तुहरु ? कुनै पनि व्यापार नाफमा छैन । २००१ देखि सामसुङ मोबाइल फोनको बिक्रि शुरु गरेको हो । आजका दिनमा मोवाइल फोनपनि घाटामा छ । मोबाइल किन्नेहरु विदेश पलायन भए । चोरी पैठारी रोक्न सकेनन । एमडिएमएस लागु भएन । खुलेयाम सामाजिक सञ्जालमा बिक्रि भइरहेका छन चोरी पैठारीका वस्तु । यसलाई राज्यले अनुगमन तथा कारबाही गरेको खै ? अहिले अर्थतन्त्र शिथिल अवस्थामा छ । केही बर्ष अघिसम्म प्रतिस्पर्धा थिएन । चाइनिज मोबाइल फोन अलि राम्रा आउन थाले यसले पनि सामसुङको बजार घटेको छ । कोरियाबाट ल्याउने स्याङ्योङ गाडीको आयात बन्द गरेका छौ । ।आइएमएस समुहको अत्यधिक घरजग्गामा लगानी छ । अब अरु १ वर्ष मन्दी होला पछि बढ्छ । हाइड्रोपावरमा पनि फोकस हुनेछौ ।