नेपाली इन्जिनियरद्वारा निर्मित 'ग्लोबल डायरी'ले विश्वभरीका प्रयोगकर्तालाई समेट्ने छ : सीईओ अग्रहरी,ग्लोबल डायरी (भिडियो कुराकानी)

२०८२ चैत ०३ गते

नेपाली इन्जिनियरद्वारा निर्मित 'ग्लोबल डायरी'ले विश्वभरीका प्रयोगकर्तालाई समेट्ने छ : सीईओ अग्रहरी,ग्लोबल डायरी (भिडियो कुराकानी)

काठमाडौँ । नेपाली इन्जिनियरहरूले निर्माण गरेको एकीकृत डिजिटल प्लेटफर्म ‘ग्लोबल डायरी’ केही समयअघि मात्रै नेपालमा सार्वजनिक गरिएको छ। व्यवसाय, प्रयोगकर्ता र सरकारी सूचनालाई एउटै डिजिटल इकोसिस्टममा जोड्ने उद्देश्यसहित यो प्लेटफर्म तयार गरिएको हो। समाचार, मार्केटप्लेस, इभेन्ट पोर्टल, जब्स र इकमर्स जस्ता सेवाहरू एकै ठाउँमा उपलब्ध हुने व्यवस्था गरिएको यो प्लेटफर्ममा विशेषगरी साना तथा मझौला व्यवसायलाई कम खर्चमा डिजिटल मार्केटिङ र ग्राहकसम्म पहुँच दिलाउने लक्ष्य राखिएको छ।करिब ४ करोड रुपैयाँ लगानीमा निर्मित यो परियोजनाको भविष्यमा प्लेटफर्मलाई विस्तार गर्दै प्रयोगकर्ता संख्या बढाएर आईपीओमा जाने योजना रहेको छ । विदेशी सामाजिक सञ्जाललाई टक्कर दिने हिसावले बनेको नेपालको आफ्नै ग्लोबल डायरीको के छ विशेषता लगायतका विषयमा वाणिज्यपोष्टले गरेको कुराकानीको सम्पादित अंश तल प्रस्तुत गर्दछौँ -

नेपाली इन्जिनियरद्वारा निर्मित नेपालकै पहिलो एकीकृत डिजिटल प्लेटफर्म ‘ग्लोबल डायरी’ भर्खरै सार्वजनिक गर्नुभएको छ। यसको मुख्य विशेषता के हो ?

Advertisement:

Ad
Ad


आजभोलि धेरै सामाजिक सञ्जालहरू छन् जस्तै- फेसबुक, इन्स्टाग्राम, टिकटक आदि। ती सबै सामाजिक सञ्जाल भए पनि मुख्य रूपमा मनोरञ्जन र प्रयोगकर्तामा केन्द्रित छन्। तर ग्लोबल डायरी भने फरक उद्देश्यका साथ बनाइएको प्लेटफर्म हो। यसको मुख्य उद्देश्य भनेको व्यवसाय, प्रयोगकर्ता र सरकारलाई एउटै डिजिटल इकोसिस्टममा जोड्नु हो।यस प्लेटफर्ममार्फत व्यवसायले आफ्नो डिजिटल उपस्थिति जनाउनुका साथै डिजिटल मार्केटिङ गर्न सक्छन्। प्रयोगकर्ताले आवश्यक जानकारी पाउन सक्छन् भने सरकारी निकायहरूले पनि सूचना, समाचार वा सूचना सार्वजनिक गर्न सक्छन्। अहिले सरकारी सूचना विभिन्न वेबसाइटहरूमा छरिएका हुन्छन्, जसलाई सबैले खोजेर हेर्न सम्भव हुँदैन। ग्लोबल डायरीमा भने ती जानकारीहरू एकै ठाउँमा उपलब्ध हुने व्यवस्था गरिएको छ।यसका साथै धेरै व्यवसायहरूलाई डिजिटल मार्केटिङ महँगो पर्ने समस्या छ। ठूलो कम्पनीसँग टिम हुन्छ, तर साना व्यवसायलाई सबै प्लेटफर्म व्यवस्थापन गर्न गाह्रो हुन्छ। यही समस्या समाधान गर्न ग्लोबल डायरी बनाइएको हो, जसले सबै व्यवसायलाई समान अवसर दिन्छ र कम बजेटमा डिजिटल मार्केटिङको सुविधा प्रदान गर्छ।

उदाहरणका लागि, फेसबुकमा विज्ञापन चलाउन १० हजार रुपैयाँ खर्च हुने ठाउँमा ग्लोबल डायरीमा करिब १ हजार रुपैयाँमै सम्भव हुन सक्छ। कतिपय व्यवसायहरूले त सुरुवाती चरणमा निशुल्क रूपमा पनि डिजिटल पहुँच पाउने व्यवस्था गरिएको छ।

ग्लोबल डायरीमा सूचना, व्यापार र मनोरञ्जन सबै समेटिने हो ?


ग्लोबल डायरी पूर्ण रूपमा मनोरञ्जन प्लेटफर्म होइन। तर यसको विभिन्न फिचरहरू हेर्दा यसमा धेरै प्रकारका सेवाहरू एकै ठाउँमा उपलब्ध हुन्छन्।जस्तै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचारहरू एकै ठाउँमा देख्न सकिन्छ मार्केटप्लेस सेक्सनमा  खुद्रा, थोक, सेकेन्ड ह्यान्ड वा रिफर्बिस्ड सामानहरू समेत बेच्न र किन्न सकिन्छ।इभेन्ट पोर्टलमा सेमिनार, तालिम, कार्यक्रम, कन्सर्ट जस्ता सबै प्रकारका कार्यक्रमको जानकारी पाइन्छ। त्यसैगरी इकमर्स एग्रिगेसनमा विभिन्न इकमर्स साइटका उत्पादनहरू एउटै ठाउँबाट हेर्न र तुलना गर्न सकिन्छ।भेरिफाइड बिजनेस सिस्टममा प्रमाणित व्यवसायहरूले च्याटमार्फत ग्राहकसँग सिधै कारोबार गर्न सक्छन्।हामीले यी प्लेटफर्ममा वार्षिक करिब १ हजार रुपैयाँको सदस्यता शुल्क राखेका छौं, जसले व्यवसायलाई वैधानिक रूपमा आफ्नो सेवा वा उत्पादन बेच्ने सुविधा प्रदान गर्छ ।

यसमा कति जना इन्जिनियरहरूको संलग्नता छ र लगानी कति छ ?


अहिले हाम्रो टिममा करिब ५२ जना सदस्य छन्। सुरुवातमा करिब ६० जनाको टिम थियो, पछि केही संरचना परिवर्तन गरिएको छ। तीमध्ये आधा भन्दा बढी इन्जिनियरहरू नै छन्।विशेषगरी हाम्रो टिममा ५, ७, ८ वर्षदेखि १३–१४ वर्षसम्मको अनुभव भएका प्राविधिकहरू छन्, जसले प्रोडक्ट डेभलपमेन्ट, यूएक्स डिजाइन लगायतका काम सम्हालिरहेका छन्। विदेशबाट पनि केही विशेषज्ञहरू जोडिएका छन्—जस्तै अमेरिका र बेंगलोरबाट दुई–दुई जना विशेषज्ञले विशेष गरी सुरक्षा प्रणाली हेर्दै आउनुभएको छ।

लगानीको कुरा गर्दा, हाम्रो प्रारम्भिक योजना करिब ५ करोड रुपैयाँ लगानी गर्ने थियो। अहिलेसम्म करिब ४ करोड रुपैयाँ खर्च भइसकेको छ। आगामी चरणमा यो परियोजनालाई पूर्ण रूपमा विस्तार गर्न १० करोड रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने अनुमान गरिएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले अरु प्लेटफर्मभन्दा यसमा के फरक पाउँछन् ?


अन्य सामाजिक सञ्जालहरूमा धेरैजसो सामग्री विज्ञापन वा मनोरञ्जनमा केन्द्रित हुन्छ। तर ग्लोबल डायरीमा प्रयोगकर्ताले आफूलाई चाहिएको सामग्री प्रत्यक्ष रूपमा फिल्टर गरेर हेर्न सक्छन्।उदाहरणका लागि-काम खोज्न चाहनेले जव सेक्शनमा गएर फिल्टर गरेर काम खोज्न सक्छन्।

सामान किन्न चाहनेले विभिन्न ई-कमर्श प्लेटफर्मका उत्पादनहरू तुलना गर्न सक्छन्।नजिकैको पसलबाट सामान किन्न पनि सजिलो हुन्छ।जस्तै- कसैले जुत्ता किन्न खोज्दा नजिकैको पसल कहाँ छ, मूल्य कति छ, च्याट गरेर जानकारी लिन सकिन्छ। चाहे पसलमै गएर साइज मिलाएर किन्न पनि सकिन्छ।त्यस्तै, समाचार पनि विषय अनुसार फिल्टर गरेर हेर्न सकिन्छ। यसले प्रयोगकर्ताको समय बचत गर्छ।

साना तथा मझौला व्यवसाय एसएमईका लागि निशुल्क सेवा दिने भन्नुभएको छ। त्यसले तपाईंहरूलाई के फाइदा हुन्छ?


सुरुवाती चरणमा हाम्रो प्राथमिकता प्लेटफर्ममा व्यवसाय र प्रयोगकर्ताको संख्या बढाउनु हो। सामाजिक सञ्जालको मुख्य शक्ति नै प्रयोगकर्ता र सामग्री हो।जति धेरै व्यवसायहरूले आफ्नो जानकारी पोस्ट गर्छन्, त्यति धेरै प्रयोगकर्ताहरू आकर्षित हुन्छन्। त्यसैले पहिलो वर्ष हामीले व्यवसाय गर्न चाहनेहरुलाई निशुल्क दिने योजना बनाएका छौं।पहिलो वर्ष निःशुल्क प्रयोग गरेर व्यवसायीहरुले हाम्रो प्लेटफर्मबाट फाइदा लिन सक्छन्। त्यसपछि वार्षिक १ हजार रुपैयाँको शुल्क लाग्नेछ, जसले प्लेटफर्मलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सहयोग पुर्‍याउँछ।

नेपालमा धेरै आईटी परियोजनाहरू सुरु भए पनि टिक्न गाह्रो हुने देखिन्छ। ग्लोबल डायरीको सस्टेनेबिलिटीलाई कसरी सुनिश्चित गर्नुहुन्छ ?


नेपालमा धेरै स्टार्टअप असफल हुनुका मुख्य कारण दुईवटा छन्, एउटा लगानी अर्थात फन्डिङको अभाव र अर्को टिम व्यवस्थापन।धेरै राम्रो प्रोजेक्टहरू पनि पर्याप्त लगानी नपाएर बन्द भएका उदाहरण छन्। आईटी प्रोजेक्टहरू सामान्यतया सुरुका २–३ वर्ष राजस्व नआउने खालका हुन्छन्, त्यसैले सुरुवाती लगानी आवश्यक हुन्छ।अर्को समस्या भनेको टिमको निरन्तरता हो। कतिपय अवस्थामा कर्मचारीहरूले अचानक काम छोड्दा परियोजनामा ठूलो असर पर्छ।हामीले यी समस्यालाई ध्यानमा राखेर सुरुबाटै टिम व्यवस्थापन र लगानी व्यवस्थापनमा काम गरेका छौं। हाम्रो परियोजनाका लागि लगानीकर्ताहरूको पनि सहयोग उपलब्ध छ।

भविष्यमा आईपीओमा जाने योजना छ?


भविष्यमा आईपीओमा जाने योजना छ। तर अहिले हामी प्रारम्भिक चरणमै छौं। पहिले प्लेटफर्मलाई स्थिर बनाउने, प्रयोगकर्ताको संख्या बढाउने र सेवा विस्तार गर्ने लक्ष्य छ। त्यसपछि मात्र आईपीओतर्फ जाने योजना बनाइनेछ।

यदि सरकारले सामाजिक सञ्जालसम्बन्धी कडा नियम ल्यायो भने यसले असर गर्छ ?


हामीले नेपाल सरकारको आईटी मन्त्रालयबाट आवश्यक सर्टिफिकेसन प्राप्त गरिसकेका छौं। त्यसैले भविष्यमा सामाजिक सञ्जालसम्बन्धी नियम कडा भए पनि हाम्रो प्लेटफर्मलाई त्यस्तो समस्या आउने सम्भावना कम छ।

नेपालमा आईटी क्षेत्रको विकासका लागि कस्तो नीति आवश्यक छ ?


आईटी क्षेत्रलाई अघि बढाउन तीनवटा कुरा अत्यन्त महत्वपूर्ण छन् । लगानी (फन्डिङ),सक्षम टिम,अनुसन्धान र तालिम वास्तवमा भन्ने हो भने नेपालमा प्रतिभाको कमी छैन। तर स्टार्टअपहरूलाई आवश्यक समयमा लगानी पाउन गाह्रो हुन्छ। सरकारले स्टार्टअपका लागि ऋण वा अनुदान दिने नीति ल्याए पनि त्यसको पहुँच र प्रक्रिया सहज हुनुपर्छ।यदि सरकारले छिटो र सहज प्रक्रिया, पर्याप्त लगानी र अवसर उपलब्ध गरायो भने नेपाली आईटी कम्पनीहरूले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छन्।नेपालमा आईटी क्षेत्रमा लगानी बढेमा विदेशबाट ठूलो मात्रामा विदेशी आम्दानी  भित्र्याउन सकिन्छ।

कुराकानी भिडियो -