२०८२ चैत ०४ गते
काठमाडौं । कर्मचारी सञ्चय कोष नेपालका सरकारी, सार्वजनिक र निजी क्षेत्रका कर्मचारीहरूको सेवा निवृत्तिपछिको आर्थिक सुरक्षाका लागि सञ्चालित एक प्रमुख सामाजिक सुरक्षण संस्था हो ।
यसमा कर्मचारीको तलबबाट कट्टी भएको रकम र रोजगारदाताले थपेको रकम जम्मा गरिन्छ, जुन अवकाश पछि ब्याजसहित फिर्ता पाइन्छ । कोषले लगानीबाट प्राप्त भएको मुनाफालाई सञ्चयकर्ताकै हितका विभिन्न कार्यक्रममा खर्च गर्ने गरेको छ । पछिल्लो समय सञ्चयकोषले आफ्ना सेवाहरुमा पनि परिमार्जन गर्दै लगेको छ ।
सञ्चयकोषको लगानीको अवस्था, सञ्चयकर्तालाई दिइएको सुविधा, स्किम लगायतका विषयमा केन्द्रित रहेर बाणिज्य पोष्टका लागि कर्मचारी सञ्चयकोषका प्रशासक जितेन्द्र धितालसँग गरिएको कुराकानीको अंश:
नेपाल एयरलाइन्समा कर्मचारी सञ्चयकोषले गरेको लगानी उठाउन निकै सास्ती देखियो नी, यो लगानी बालुवामा पानी भएको हो ?
सर्वसाधारण र तपाइहरुको दृष्टिकोणबाट हेर्दा नेपाल एयरलाइन्समा गरिएको लगानी डुबेको जस्तो देखिन्छ । तर हामी यसलाई लगानी फसेको मान्दैनौ । नेपाल एयरलाइन्स सरकारकै निकाय होे । त्यसकारण सबैभन्दा सुरक्षित लगानी नै यही हो । यद्यपि, सरकार जमानत बसेपनि एयरलाइन्स पर्यटन मन्त्रालयअन्र्तगतको हो । हामी अर्थमन्त्रालय अन्र्तगतको । तपाइले भनेजस्तो के देखिन्छ भने एयरलाइन्सले हेलचेक्रयाइ चाहि गरेको हो ।
नेपाल एयरलाइन्सको व्यवस्थापन सबै सुधार गर्नुपर्ने देखिन्छ । उहाँहरुले सरकारको ग्यारेन्टीको ऋण हो भनेर बेवास्ता गरिदिनुहुन्छ । नियमित किस्ता तिरेपनि अझै धेरै बाँकी छ । हरेक तिन महिनामा किस्ता तिर्नुपर्ने हुन्छ । सबै किस्ता तिरेको छ तर थोरै—थोरै गरेर तिरेको छ । तिर्नुपर्ने ६०/७० करोड हुन्छ तर २०/२५ करोड मात्र तिरेको हुन्छ । त्यसकारण उनीहरुको ऋण खप्टेको छ । हामीले २२ अर्ब ऋण दिएकोमा ३२ /३३ अर्ब पुगिसक्यो । एयरलाइन्सलाई सहुलियत दिन के गर्नुपर्छ ब्याज नै घटाउनुपर्ने हो या के सहुलियत दिनुपर्ने हो तपाइहरुको योजना ल्याउनुस भनेका छौ तर ल्याउँदैनन् । यसमा सरकारकै हो भनेर हेलचेक््रयाइ गरेको देखियो ।
हामीले एयरलाइन्सलाई तीन वटा ऋण दिएका छौ । न्यारोबडी २ वटामा (१० अर्ब) , वाइडबडी एउटा (१२ अर्ब) र रिभल्भिङ लोन दिएका छौ । रिभल्भिङमा सरकारको जमानत छैन त्यसकारण उहाँहरुले समयमै तिरिरहनु भएको छ । २०५७/५८ सालतिर लिएको ऋणको समयमै किस्ता तिरिरहेका छन् तर सरकार जमानत भएको ऋणमा बढी हेलचेक्रयाई गरेको देखियो ।
एयरलाइन्स बाहेक अन्य कुन क्षेत्रको लगानी उठ्तीमा समस्या भइरहेको छ ?
तामाकोशी र चिलिमे अन्र्तगत बनेका आयोजनामा पनि सञ्चयकोषको ठुलोे लगानी छ । यसको निर्माण समय बढेको कारणले लागत बढेको छ । त्यसकारण समयमै तिर्न सकेका छैनन । ५ वर्षको आयोजना १०/११ वर्ष लागेर बनाइएकाले समयमै उठ्न समस्या भएको हो । निर्माण सकिएपछि तिर्न थालेका छन् । हामीलाई घाटा भएको छैन । ब्याज पूँजीकरण हुँदै हुँदै गएर बढेको छ । ब्याजमा पनि ब्याज आएको छ । रसुवागढीको पनि बिचमा बाढी आएर समस्या भएको थियो तर अहिले आएर तिर्न थालेका छन् । १९ सालदेखि अहिलेसम्म जम्मा २६ वटा ऋण छ । साइज ठुलो छ । प्राइभेट प्रोजेक्ट लगभग दुइ÷तिनवटा हो । अलिकति समस्या परेको भनेको कोहिनुर हाउजिङको हो । इच्छाराज तामाङको सिटिसि मल छ । धितोको हिसाबबाट केही समस्या छैन तर समस्या चाहि के छ भने सहकारी डुब्यो ।
हम्रोमा अण लिन नीजि क्षेत्र डराउँछन् किनभने बैंक तथा वित्तिय संस्था जस्तो हुदैन । हामीसँग जो पाए त्यही आउदैनन् । आएकाहरुलाई पनि डर नै हुन्छ । सरकारी ढिलो भएपनि तिर्न चाहि तिर्छन् भन्नेमा ढुक्क हुन्छ ।
अहिले बैकिंङ र गैरबैकिङ क्षेत्रमा तरलता अधिक छ । बैंकमा पनि राम्रो ब्याज छैन । यस्तो अवस्थामा सञ्चयकोषले चाहि सञ्चयकर्ताको रकमको कसरी व्यवस्थापन गरिरहेको छ ?
हामीसँग प्रसस्त लगानी गर्न मिल्ने रकम छ तर बैंक तथा वित्तिय संस्थाले राख्न मान्दैनन । बोलकबोल गरेर निक्षेप लिन बोलाउँदा पनि आउँदैनन् । कहिले काहि त बैंकका सिइओलाई नै फोन गरेर पैसा राखिदिनुपर्यो भन्नुपर्छ । अहिले सञ्चयकोषको ३५÷३६ अर्ब रकम त्यतिकै बैकमा विना ब्याजमा राखेका छौ । कुनै कुनै बैंकले धेरथोर ब्याज दिएका छन् ।
सञ्चयकोषको ब्याजदर कसरी निर्धारण हुन्छ ?
पहिला पहिला बर्षमा एक पटक ब्याजदर निर्धारण हुन्थ्यो । अहिले त्रैमासिक रुपमा ब्याजदर निर्धारण हुन्छ । सञ्चयकोष बोर्डले ब्याजदर निर्धारण गर्छ । गत वर्षको पुषबाट त्रैमासिक रुपमा ब्याजदर अपडेट गरिरहेका छौ । सञ्चयकर्तालाई हामीले ५ प्रतिशत ब्याजदर दिइरहेका छौ । हाम्रो पैसामा बिडिङ गर्दा तीन प्रतिशत पाइयो भनेपनि खुसी हुने अवस्था छ ।
कोषको नयाँ स्किम के छ ?
नीजि क्षेत्रमा ऋणलगानी गर्न जोखिम छ । त्यसकारण हामी अहिले सञ्चयकर्तामा केन्द्रित छौ । उनीहरुलाई दिइने ऋणको सिमा बढाएका छौ । पहिला डेढ करोडसम्म लैजान सक्छन् । हाउजिङ लोन, एजुकेशन लोन, हाउस रिपेयर र ओडी लोन गरी चार प्रकारका ऋण दिन्छौ । अहिले हामीले यसलाई बढाएर तीन करोडसम्म लैजान सक्ने बनाएका छौ । उनीहरुलाई ५.५ प्रतिशत ब्याज लिन्छौ । अब नयाँ भेइकल लोन भनेर निकाल्दैछौ । जेनजी आन्दोलनले धेरै गाडीहरु तहसनहस भए । सरकारले पनि सहसचिव भन्दा माथिकोलाई गाडी दिएको छ । अर्थमन्त्रालयसँगै समन्वय गरेर बैंकको भन्दा एक प्रतिशत कममा भेइकल ऋण दिन्छौ । सम्भवत बैशाखबाट लागु होला ।
कोषको सबैभन्दा रुचाइएको स्किम कुन हो ?
पहिला घरसापटी एकदमै रुचाइएको थियो । अहिले चक्रिय कर्जा रुचाइएको छ । यो वर्किङ कर्जा जस्तै हो । घर सापटि भनेको घर बनाउँन मात्र पाइने भयो । चक्रिय कर्जामा प्रयोजन खुलाउन नपर्ने भएकाले यो अधिक रुचाइएको छ । यसमा ६० लाख सम्म कर्जा पाइन्छ । धितो मूल्यांकन वा ६० लाखमा जुन कम हुन्छ त्यही बराबरको ऋण पाउँछन् । कर्मचारी सञ्चढयकोष पुरानो फण्ड भएकाले यसमा फाइदा बढी छ ।
प्रतिक्रिया