२०८२ असोज ०८ गते
काठमाडौ । श्रम अदालतबाट बोनस दिनुपर्ने निर्णय भएपनि नेपाल स्टक एक्सचेन्जका सञ्चालकले आफ्ना कर्मचारीलाई बोनस नदिने भनेपछि कर्मचारीले अध्यक्ष र सिइओलाई कार्यालयमै थुनेका छन् ।
सञ्चालकले रिट लिएर सर्वोच्च अदालत जान्छौ तर बोनस दिन सकिदैन भनेपछि कर्मचारीहरुले अध्यक्ष र सिईओलाई कार्यालयमै थुनेको नेप्सेका एक कर्मचारीले बाणिज्यपोष्टलाई बताए । विगत ५ बर्षदेखि आफुहरुले बोनस नपाएपछि कर्मचारी युनियन श्रम अदालतमा गएका थिए । अदालतले कर्मचारीको पक्षमा फैसला सुनाएको थियो ।
कर्मचारी युनियनले मंगलबार राती १२ बजेसम्म सिईओ र अध्यक्षलाई कार्यालय भित्रबाट बाहिर आउन दिएका थिएनन । आफूहरु बाहिर आउन नपाएपछि थुनिएका सिईओ र अध्यक्षले प्रहरीलाई थुनिएको खबर गरेका थिए । करिब १ बजेतिर प्रहरी आएर उनीहरुलाई उद्धार गरेको स्रोतले बताएको छ । सिईओ र अध्यक्ष निस्किएपछि कर्मचारीहरु पनि करिब १ बजेतिर घर फर्किएका थिए । नेप्सेमा हाल ३५ स्थायी र करिब १२ जना अस्थायी कर्मचारी कार्यरत रहेका छन् ।
प्रतिक्रिया