२०८२ पुस ०९ गते
काठमाडौँ। जेन–जी आन्दोलनपछिको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको छ। उक्त मन्त्रालयहरु सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिनको कार्यविवरण सार्वजनिक गरेका छन् । बुधबार आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको अवसरमा एक कार्यक्रम आयोजना गरि आफ्नो कार्यविवरण सार्वजनिक गरेका हुन् ।
सरकारले कठिन र चुनौतीपूर्ण परिस्थितिमा जिम्मेवारी सम्हाल्दै जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा कामलाई प्राथमिकता दिएको जनाएको छ। मनसुनजन्य विपद् व्यवस्थापनमा कागजी उपस्थिति मात्र नभई मैदानमै सक्रिय भूमिका निर्वाह गरिएको उल्लेख गर्दै मौसम तथा बाढीसम्बन्धी पूर्वानुमान सूचना समयमै सम्प्रेषण गरिएको थियो। यसका कारण सम्भावित ठूलो जनधनको क्षति हुन नदिइएको सरकारको निष्कर्ष छ।
यस अवधिमा मेलम्चीको पानी काठमाडौं ल्याउन देखिएका अवरोध हटाइएको, बञ्चरेडाँडामा फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गरिएको तथा तातोपानी–कोदारी सडक खुलाएर चीनसँगको उत्तरी नाका पुनः सञ्चालनमा ल्याइएको छ । बाढी र पहिरोले क्षति पुर्याएको बीपी राजमार्गलाई अस्थायी रूपमा सञ्चालनमा ल्याई जनजीवन सहज बनाइएको पनि सरकारको भनाइ छ।
विकास आयोजनामा देखिएको ढिलासुस्ती र लापरवाही अन्त्य गर्न कडाइ गरिएको बताउँदै सरकारले वर्षौंदेखि काम नगरी अलपत्र परेका दर्जनौं ‘रुग्ण ठेक्का’ तोडेको जनाएको छ। सडक, पुल र जलविद्युत आयोजनासँग सम्बन्धित अर्बौं रुपैयाँ बराबरका ठेक्का सम्झौता अन्त्य गरी नयाँ प्रक्रियामार्फत काम अघि बढाइएको छ ।
ऊर्जा क्षेत्रमा बुढीगण्डकी र अपर अरुणजस्ता ठूला जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने गरी लगानी मोडालिटी र वित्तीय ढाँचा तयार गरी अर्थ मन्त्रालयमा पठाइएको छ। साथै, भारत र बंगलादेशतर्फ विद्युत् निर्यात बढाइएको तथा बक्यौता महसुल असुलीमा कडाइ गरिएको सरकारको दाबी छ।
सरकारले आगामी दिनमा पनि काम नगर्ने संरचना, गैरजिम्मेवारी र जनहितविरुद्धका गतिविधिसँग कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै १०० दिनको अवधि केवल सुरुवात मात्र भएको जनाएको छ।
पूर्ण पाठको लागि तल लिङ्क थिच्नुहोस्:
१०१ (एक सय एक) मूख्य कार्य पूर्ण पाठ
प्रतिक्रिया