कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

२०८१ भदौ २८ गते

कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ। उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन् ।

शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत अवलोकनका क्रममा उनले यस्तो बताएका हुन् । उनले कोही पनि सरुवा, बढुवा वा अरु कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न नआउन पनि आग्रह गरे । उनले आफ्नो रुची र चासो कर प्रशासनमा उल्लेखनीय सुधार र लक्ष्य पूरा गर्नेमा केन्द्रित रहेको बताए ।

Advertisement:

Ad
Ad

उपप्रधानमन्त्री पौडेलले सरकारले लिएको राजस्व उठाउनका लागि आवश्यक सहयोग के चाहिन्छ सरकारसँग माग्न पनि आग्रह गरे । उनले आन्तरिक राजस्व रणनीति कार्यान्वयनका लागि जोड दिए ।

‘‘कोही पनि साथीहरु सरुवा, बढुवा अरु कुनै प्रयोजनका निम्ति मन्त्रीकहाँ नआउनु होला । मन्त्रीको एउटा मात्रै रुची र एउटा मात्रै चासो छ कि, हाम्रो कर प्रशासनमा उल्लेखनीय सुधार होस् । र लक्ष्य पूरा होस् । त्यसका लागि तपाईंहरुलाई के सहयोग चाहिन्छ, त्यो सबै सहयोगका दिन हामी तयार छौँ ।,’’ उनले भने, ‘‘सबै सहयोग प्राप्त गर्न सक्नुहुन्छ । त्यस हिसाबले अघि बढ्न आग्रह गर्दछु । हामीले भर्खरै आन्तरिक राजस्व रणनीति परिचालन गरेका छौँ । यो रणनीति कार्यान्वयनको प्राथमिकतामा रहनेछ । रणनीति कार्यान्वयनमा जोड दिनुहोला ।’’

उपप्रधानमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने काममा लाग्नुपर्ने बताए । उनले लक्षित राजस्व लक्ष्य सम्पूर्ण रुपमा पूरा गर्न पनि निर्देशन दिए ।