२०८३ जेठ १३ गते
काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर फ्यासिलिटी) मा कार्यरत सहायक कामदारका लागि २ हजार ३ सय नेपाली श्रमिकको माग आएको छ। वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार सहायक कामदार पदका लागि आवेदन खुला गरिएको विभागले जनाएको छ। कुल माग संख्यामध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषका लागि छुट्याइएको छ।
सूचनाअनुसार छनोट भएका कामदारले मासिक ६ हजार ५४३.५८ नयाँ इजरायली शेकेल (NIS) तलब प्राप्त गर्नेछन्। यसबाहेक इजरायली कानुनअनुसार ओभरटाइम सुविधा समेत उपलब्ध हुनेछ। कामदारले सातामा ६ दिन र ४२ घण्टा नियमित काम गर्नुपर्नेछ। बसोबासको व्यवस्था रोजगारदाताले गर्ने भए पनि खाना तथा केही व्यक्तिगत खर्च भने कामदार आफैंले व्यहोर्नुपर्ने व्यवस्था छ।
विभागका अनुसार प्रारम्भिक करार अवधि एक वर्षको हुनेछ। आवश्यकताअनुसार करार नवीकरण गर्न सकिनेछ र अधिकतम पाँच वर्षसम्म रोजगारी अवधि विस्तार गर्न सकिनेछ। आवेदन दिन चाहने नेपाली नागरिकले विभागको अनलाइन प्रणालीमार्फत (www.ferms.dofe gov.np) सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ।
आवेदकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने, कम्तीमा एसईई वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने तथा केयरगिभिङसम्बन्धी तालिम वा अध्ययन गरेको हुनुपर्ने विभागले जनाएको छ। साथै, विगतमा इजरायलमा काम नगरेको हुनुपर्ने सर्त पनि राखिएको छ।उच्च तलब र सुरक्षित श्रम गन्तव्यका रूपमा चिनिने इजरायलमा नेपाली श्रमिकका लागि खुलाइएको यो अवसरलाई वैदेशिक रोजगारी खोजिरहेका युवाका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया