२०८३ असोज ०२ गते
काठमाडौं । घर बनाउने तयारीमा रहेका ग्राहकका लागि घरजग्गा तथा निर्माण एक्स्पो केवल घर वा जग्गा खोज्ने ठाउँ मात्र बनेको छैन, घर निर्माणसँग जोडिएका प्रविधि, सामग्री र सेवाबारे प्रत्यक्ष जानकारी लिने अवसरसमेत बनेको छ।
काठमाडौंको भृकुटीमण्डपमा जारी नवौँ घरजग्गा तथा निर्माण एक्स्पोमा विभिन्न हाउजिङ तथा निर्माण कम्पनीसँगै पेन्ट्स कम्पनी, वास्तुशास्त्र परामर्शदाता र घर निर्माणका लागि वित्तीय सुविधा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाहरूले समेत आफ्ना स्टल राखेका छन्। असोज ४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा नेपाली पेन्ट्स कम्पनी होमल्याण्ड पेन्ट्सले पनि आफ्ना उत्पादन र प्रविधिबारे उपभोक्तालाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले सहभागिता जनाएको छ।
रंग किन्नुअघि प्रयोगको तरिका बुझ्नुपर्छ
होमल्याण्ड पेन्ट्सका अध्यक्ष प्रकाश अधिकारीका अनुसार बजारमा पेन्ट्सका विभिन्न ब्रान्ड उपलब्ध भए पनि धेरै उपभोक्तालाई कुन ठाउँमा कस्तो रंग प्रयोग गर्ने, पुटिङपछि कुन विधिबाट पेन्ट गर्ने, बाहिरी र भित्री भित्ताका लागि कस्तो पेन्ट उपयुक्त हुन्छ भन्ने विषयमा पर्याप्त जानकारी हुँदैन। त्यसैले एक्स्पोमार्फत उपभोक्तालाई रंगको गुणस्तर मात्रै होइन, प्रयोग गर्ने सही विधिबारे समेत प्रत्यक्ष जानकारी दिने प्रयास गरिएको अधिकारीले बताए ।
“ग्राहकले रंग किन्नुअघि त्यसको प्रयोग कसरी गर्ने भन्ने बुझ्न आवश्यक हुन्छ। पुटिङ गरिसकेपछि कसरी पेन्ट गर्ने, कुन ठाउँमा कुन प्रकारको रंग प्रयोग गर्ने लगायतका विषयमा हामी प्रत्यक्ष जानकारी दिइरहेका छौँ,” अधिकारीले भने।
जापानी प्रविधि, उत्पादन नेपालमै
होमल्याण्ड पेन्ट्सले जापानी प्रविधिमा आधारित भएर नेपालमै उत्पादन गर्दै आएको जनाएको छ। अधिकारीका अनुसार कम्पनीले प्रयोग गर्ने प्रविधि जापानबाट आएको भए पनि उत्पादन भने पूर्णरूपमा नेपालमै भइरहेको छ। जापानी पक्षबाट प्रविधिको परीक्षण तथा गुणस्तर सुनिश्चित भएपछि नेपालमा उत्पादन सुरु गरिएको उनको भनाइ छ।
“प्रविधि जापानी हो, तर उत्पादन नेपालमै हुन्छ,” अधिकारीले भने, “जापानी प्रविधिबाट बनेको उत्पादन भएकाले गुणस्तरमा विशेष ध्यान दिएका छौँ।” कम्पनीले हाल करिब ४० जनालाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ। आफ्ना उत्पादन नेपालभर करिब ८० डिलरमार्फत बिक्री भइरहेको कम्पनीको भनाइ छ।
‘घरदेखि फ्याक्ट्रीसम्मका लागि रंग’
होमल्याण्डले आफूलाई डेकोरेटिभ पेन्ट्स कम्पनीका रूपमा अघि बढाएको छ। कम्पनीका अनुसार घर तथा भवन निर्माणमा आवश्यक पर्ने विभिन्न प्रकारका रंग उत्पादन गर्दै आएको छ। घरको भित्तामा आउने सीपेज नियन्त्रणका लागि ड्याम सिल, भित्री भित्ताका लागि इमल्सन, बाहिरी भागका लागि एक्सटेरियर पेन्ट्स लगायतका उत्पादन कम्पनीसँग छन्।त्यसैगरी कम्पनीले फायर प्रुफ रंगसमेत बजारमा ल्याउने तयारी गरेको अधिकारीले बताए।
“घरमा सीपेज आएको अवस्थामा ड्याम सिल प्रयोग गर्न सकिन्छ। भित्री भित्तामा इमल्सन र बाहिरी भागमा एक्सटेरियर पेन्ट्स प्रयोग हुन्छ। घरदेखि फ्याक्ट्रीसम्म आवश्यक पर्ने विभिन्न प्रकारका रंग हामीसँग छन्,” उनले भने।
एक किलो रंगले ११० देखि १३० वर्गफिटसम्म पुग्ने
होमल्याण्ड पेन्ट्सले आफ्नो उत्पादनको कभरेज क्षमतालाई पनि प्रमुख विशेषताका रूपमा प्रस्तुत गरेको छ। कम्पनीका अनुसार एक किलो रंगले करिब ११० देखि १३० वर्गफिटसम्म क्षेत्रफल ढाक्न सक्ने क्षमता रहेको छ। अन्य केही ब्रान्डको तुलनामा यस्तो कभरेज बढी रहेको कम्पनीको दाबी छ। कम्पनीले गुणस्तरका साथै उपभोक्तालाई तुलनात्मक रूपमा सस्तो मूल्यमा उत्पादन उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।
चार वर्षमै बजार विस्तार
होमल्याण्ड पेन्ट्स बजारमा आएको करिब चार वर्ष भएको छ। छोटो अवधिमै उत्पादनले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको अधिकारीको दाबी छ। डिलर नेटवर्क विस्तार गर्दै नेपालभर उत्पादन पुर्याइरहेको कम्पनीले आगामी दिनमा विदेशी बजारमा समेत निर्यात गर्ने योजना बनाएको छ। नेपालमै उत्पादन गरी नेपाली बजारको माग पूरा गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली पेन्ट्सको पहुँच विस्तार गर्ने कम्पनीको लक्ष्य छ।
घरजग्गा तथा निर्माण एक्स्पोमा होमल्याण्ड पेन्ट्सको सहभागिताको मुख्य उद्देश्य आफ्नो उत्पादनको प्रचार मात्र नभई उपभोक्तालाई सही पेन्टिङ प्रविधिबारे जानकारी दिनु रहेको कम्पनीले जनाएको छ। घर निर्माण गर्दा संरचना, सिमेन्ट, इँटा र डिजाइनमा ध्यान दिए पनि अन्तिम चरणमा प्रयोग हुने रंगको छनोट र प्रयोग विधिबारे धेरै उपभोक्ता अन्योलमा रहने गर्छन्। यही अन्योल हटाउन एक्स्पोमा प्रत्यक्ष रूपमा प्राविधिक जानकारी उपलब्ध गराइएको कम्पनीको भनाइ छ।
निर्माण सामग्रीको बजारमा प्रतिस्पर्धा बढ्दै जाँदा उपभोक्ताले ब्रान्डको नाम मात्रै हेरेर नभई गुणस्तर, प्रविधि, कभरेज, प्रयोग विधि र लागतलाई समेत आधार बनाएर पेन्ट्स छनोट गर्नुपर्नेमा कम्पनीले जोड दिएको छ। होमल्याण्डले यही आधारलाई टेकेर नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउने प्रयास गरिरहेको जनाएको छ।
प्रतिक्रिया