ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्य

२०८३ साउन २२ गते

ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्य

काठमाडौं । ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच नगरवासीलाई गुणस्तरीय, सहज र सहुलियतपूर्ण विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य सेवा सम्बन्धी सहकार्य सम्झौता भएको छ।

 

Advertisement:

Ad
Ad

सम्झौतापत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर।एस। भण्डारी र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसालले हस्ताक्षर गरेका छन्।

 

सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा ह्याम्स अस्पतालमा उपचार, शल्यक्रिया तथा अन्य स्वास्थ्य सेवा लिन आउने नगरपालिकाका स्थायी बासिन्दाले विभिन्न विशेषज्ञ सेवामा विशेष छुट तथा सहुलियत पाउनेछन्। यसबाट आर्थिक रूपमा कमजोर नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

सम्झौताले नियमित स्वास्थ्य परीक्षण, रोगको समयमै पहिचान, प्रारम्भिक उपचार तथा जनस्वास्थ्य सचेतना अभिवृद्धिमा समेत सहकार्य गर्ने लक्ष्य राखेको छ।

 

ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले स्थानीय सरकारसँगको सहकार्यले नागरिकसम्म गुणस्तरीय र किफायती विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउन थप सहज हुने बताए। नगर प्रमुख रिसालले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गरिएको सहकार्यले नगरवासीको उपचारमा हुने आर्थिक भार कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

 

ह्याम्स अस्पतालले मुटु, न्युरो साइन्स, क्यान्सर, अर्थोपेडिक्स, युरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी तथा क्रिटिकल केयरलगायत विभिन्न विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ।