किनबेच गर्दा बैंक स्टेटमेन्ट सहित केवाइसी अनिवार्य, ३ करोड भन्दा बढीको खरिदबिक्रि गर्दा राष्ट्र बैंकको एफआइयुलाई जानकारी गराउँनुपर्ने

२०८२ जेठ २१ गते

किनबेच गर्दा बैंक स्टेटमेन्ट सहित केवाइसी अनिवार्य, ३ करोड भन्दा बढीको खरिदबिक्रि गर्दा राष्ट्र बैंकको एफआइयुलाई जानकारी गराउँनुपर्ने

काठमाडौ । सरकारले घरजगगा कारोबालाई थप कडा व्यवस्था गरेको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको केवाइसी अनिवार्य भर्नुपर्ने वयवस्था गरेको छ भने स्टेटमेन्ट पनि अनिवार्य पेश गर्नुपर्नेछ ।

विभागले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्देशन जारी गर्दै केवाइसी र बैंक स्टेटमेन्टलाई अनिवार्य गरेको हो । घरजग्गा कारोबार गर्दा १० लाख देखि ५० लाख रुपैयाँसम्म बैंकमार्फत गर्नुपर्नेछ भने ५० लाख भन्दा बढीको कारोबारमा बैंकबाट विद्युतीय भुक्तानीबाट सोझै वा चेकमार्फत गर्दा बिक्रिकर्ताको नाममा तयार पारिएको गुडफर पेमेन्ट चेकमार्फत गर्नुपर्ने विभागले भनेको छ । 
 
बैंकमार्फत राजस्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयका हकमा १० लाखभन्दा बढीको घरजग्गा खरिद–बिक्री कारोबार गर्दा लाग्ने रजिस्ट्रेसन बापत शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट तिर्नुपर्ने छ । त्यसैगरी लाभकर बापत राजस्व बिक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था निर्देशनले गरेको छ । 

Advertisement:

Ad
Ad

यस्तै एक दिनमा तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा खरिदबिक्रि गर्दा त्यसको विवरण नेपाल राष्ट्र बैंकको वित्तिय जानकारी इकाइ (एफआइयु) मा गराउँनुपर्नेछ । यदि कारोबार शंकास्पद लागेमा पनि त्यसको जानकारी एफआइयूलाई गराउँनुपर्नेछ । घरजग्गा खरिद–बिक्री कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनाबट्टाको कागज पेस गरे पनि बैंक स्टेटमेन्ट अनिवार्य हुनेछ । १० लाख रुपैयाँभन्दा बढीको बैनापट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा बैंकिङ वा विद्युतीय कारोबार प्रणाली मार्फत लेनदेन भएको विवरण बैनापट्टाको कागजसाथ पेस गर्नुपर्ने निर्देशनमा भनिएको छ  ।