धितोपत्र बोर्डमा अध्यक्ष चयनका लागि सरकारी समिति गठन, के छ योग्यताको मापदण्ड ?

२०८० माघ ०५ गते

धितोपत्र बोर्डमा अध्यक्ष चयनका लागि सरकारी समिति गठन, के छ योग्यताको मापदण्ड ?

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि सिफारिस समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो ।बुधवार बसेको मन्त्रिपरिषदको बैठकले उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो। गत पुष २१ गते निनवर्तमान अध्यक्ष रमेश हमालको कार्यकाल सकिएर निवृत्त भएपछि हाल उक्त पद रिक्त रहेको छ ।

सरकारले गठन गरेको समितिको सदस्यमा अर्थसचिव डा. कृष्णहरि पुस्कर र उदय निरौला छन् । निरौला शंकरदेव क्याम्पसका उपप्राध्यापक हुन् । समितिले छनोट सम्वन्धी कार्यविधि बनाउने र विज्ञापन आव्हान गर्नेछ । कम्तीमा १५ दिनको सार्वजनिक विज्ञापन प्रकाशित गरेपछि प्राप्त आवेदनका आधारमा कार्यविधि अनुसार ३ जनाको नाम छनोट गरि अध्यक्ष नियुक्ति गर्न सरकारलाई सिफारिस गर्नेछ ।

Advertisement:

Ad
Ad

अध्यक्षका लागि के छ योग्यताको मापदण्ड ?

अध्यक्ष बन्नका लागि नेपाल धितोपत्र बोर्डको छनोट तथा सिफारिस कार्यविधि, २०७८ अनुसार धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १० बमोजिम नेपालको नागरिक उच्च नैतिक चरित्र भएको हुनुपर्ने छ ।

मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरि धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको हुुनुपर्ने छ ।

यस्तै, अर्थ मन्त्रालय सम्वद्ध निकायका पदाधिकारीहरुको नियुत्ति तथा मनोनयन सम्वन्धी मापदण्ड, २०७३ अनुसार ३० वर्ष पुरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।धितोपत्र ऐन अनुसार सिफारिसमा परेका ३ जनामध्ये १ जनालाई अर्थमन्त्रीले बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने छन् । त्यसपछि मन्त्रिपरिषदको सिफारिसमा नै एक जना बोर्डको अध्यक्ष बन्ने छन् ।