दरबारमार्ग सडक अवरुद्ध भएपछि सर्वसाधारणको विचल्ली, सुत्केरी व्यथा च्यापेका समेत सडकमै अड्किए (तस्विरहरु)

२०८१ असोज ०२ गते

दरबारमार्ग सडक अवरुद्ध भएपछि सर्वसाधारणको विचल्ली, सुत्केरी व्यथा च्यापेका समेत सडकमै अड्किए (तस्विरहरु)

काठमाडौँ । मुलुकले नयाँ संविधान पाएको ९ वर्ष पुरा गरेर दशौँ वर्षमा प्रवेश गर्दैछ । नयाँ संविधान २०७२ सालमा जारी भएको हो । मूलतः नागरिकलाई केन्द्रमा राखेर तिनको सर्वोपरी हुने गरी जारी भएको भनिएको यो संविधान दिवस मनाउन आम मानिसले कत्रो हर्कबढाइँ गर्नुपर्ने हो । तर ठिक विपरित संविधान दिवस मनाउने दिनको अघिल्लो दिन आज बुधबार सडकमा नागरिकले पाउनु विधी सास्ती पाएको र तामझाम गर्ने सरकारलाई धारे हात लगाउँदै आक्रोशित बनेको पो भेटियो । हुनपनि संविधान दिवसको दिन आयोजना गर्ने संस्कृतिक कार्यक्रमका लागि स्टेज निर्माण गर्न १ दिन अगाडीनै हजारौँ सर्वसाधारण यात्रु र सवारीसाधन आवतजावत गर्ने सडक ठप्प पार्ने सरकारी निर्णयनै सरासर गलत हो ।

टट्याउँदो उखरमाउलो घाममा घण्टौँ सवारी जाममा परेका प्रत्येक मानिसका आँखामा रोष र आक्रोश देखिन्थ्यो । यस्तैमा ट्राफिक प्रहरीसँग गलफती गर्दै गरेका बानियाटारका बिमलजंग ठकुरी भेटिए । उनी भन्दै थिए बिना कुनै जानकारी सर्वसाधारणलाई सडकमा हिँड्न बन्देज लगाउने सरकारी रवैयाले संविधान दिवस मनाउने उत्साह कसरी पलाउँछ । उनको रोष प्रकट हुनुको पछाडी जायज कारण रहेछ बुझ्दै जाँदा थाहा भयो ।

Advertisement:

Ad
Ad

बुधबार एकाएक श्रीमतीलाई सुत्केरी व्यथाले गाह्रो बनाउन थालेपछि वीर अस्पतालमा लैजान मोटरसाइकलमा हालेर घरबाट हुइँकिएका ठकुरी लैनचौर केशरमहल हुँदै छिटो पुग्ने बाटो खोज्दै दरबारमार्ग प्रवेश गर्ने क्रममा थिए । बिचमा पुग्नै नपाउँदै ट्राफिक प्रहरीले रोकिहाले । उनी भोलि हुने कार्यक्रमका लागि दरबारमार्ग प्रवेश रोक लगाएकोबारे बेखबर थिए । मोटरसाइकल फर्काउन खोजे जामले कतै खाली ठाउँ थिएन । बल्लतल्ल दुई घण्टाको जाम छिचोल्दै श्रीमतीलाई वीर अस्पताल पुर्याउन भ्याए ।

अर्का एक व्यक्ति ड्युटीमा रहेका प्रहरीसँग भनाभन गरिरहेको अवस्थामा भेटिन्छन् । उनी भनिरहेका थिए, नागरिकलाई सास्ती दिएर मनाएको संविधान दिवस मनाउनुको के अर्थ ? उनी थप्छन्, ‘संविधानले निमुखा जनतालाई के दियो ? जनताले के पाए ? यसरी तामझाम र प्रचारप्रसार गर्न लाज लाग्नु पर्ने होइन र ?’

यी प्रतिनिधि पात्र मात्र भए । कोही ट्राफिक प्रहरीसँग झगडा गरिरहेका भेटिन्थे त कोही राज्यलाई आक्रोश पोखिरहेका । सवारी डाइभर्सन हुँदा त्यसको प्रभाव धेरै टाढासम्म परेको छ । १०/१५ मिनेटको बाटो छिचोल्न घन्टौं जाम बस्नुपर्ने आम नागरिकको समस्या बनेको छ ।

ड्युटीमा खटिएका ट्राफिक प्रहरी नागरिकको आक्रोसबाट  हैरान देखिन्थे । ‘हाम्रो पनि ड्युटी हो । माथिबाट जे आदेश आउँछ त्यहीँ गर्नैपर्छ । नागरिक हामीमाथि खनिन्छन्’, एक ट्राफिक प्रहरीले भने ।

दरबारमार्ग सडक अवरुद्ध हुँदा बानेश्वर, माइतिघर, नारायण गोपाल, उत्तर ढोका, गैरीधारा, हात्तिसार, पशुपति, दिल्लीबजार सडक, कान्तिपथ लगायतमा क्षेत्रमा जाम परेको छ । त्यस्तै त्रिपुरेश्वर, थापाथली, माइतीघर, टुँडिखेल आसपास पनि जाम छ ।

 केशरमहल चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमल तर्फ, जयनेपाल चोकबाट दक्षिणगेट तर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटी तर्फ र महेन्द्रशालिक चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई घण्टाघर तर्फ डाइभर्सन गरिएको छ ।

सरकारले असोज भोलि ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको छ । कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायत कलाकारसहित चर्चित ब्याण्डहरु कुटुम्ब र एलिमेन्ट्सले समेत प्रस्तुति दिने बताइएको छ ।