सबैभन्दा बढी नाफा कमाउने नबिल, सबैभन्दा बढी नाफा बढाउने कुमारी, अरु बैंकको कस्तो छ अवस्था ?

२०८२ माघ १५ गते

सबैभन्दा बढी नाफा कमाउने नबिल, सबैभन्दा बढी नाफा बढाउने कुमारी, अरु बैंकको कस्तो छ अवस्था ?

काठमाडौं । बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ६ महिनाको वित्तिय विवरण सार्वजनिक गरेका छन् । औषतमा हेर्दा बैंकहरुको नाफामा बढोत्तरी देखिएको छ ।

तर ८ वटा बाणिज्य बैंकको नाफा घटेको छ भने एउटा बैंकको नाफा ऋणात्मक छ । ११ वटा बाणिज्य बैंकको नाफा बढेको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरुले ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ नाफा गरेका हुन् । जुन गत वर्षको यसै अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो । गत वर्ष बैंकहरुले २७ अर्ब ४३ करोड बढी नाफा गरेका थिए । 

Advertisement:

Ad
Ad


सबैभन्दा बढी नाफा गर्नेमा नबिल बैंक अगाडी छ । यस बैंकले ४ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी नाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा नबिलले ४६.७१ प्रतिशत बढी नाफा गरेको हो । यस्तै नाफा बढी हुने बैंकको दोस्रो स्थानमा ग्लोबल आइएमइ  बैंक रहेको छ । ग्लोबल आइएमइको नाफा ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ भन्दा बढी छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको नाफा ६.५० प्रतिशतले बढेको हो । 

 

कुमारीले बढायो सर्वाधिक नाफा

नाफा बढाउँने बैंकको नम्बर एकमा भने कुमारी बैंक रहेको छ । यस बैंकको नाफा ८८६.५० प्रतिशतले बढेको हो । यो सँगै चालु आर्थिक वर्षको ६ महिनामा बैंकको नाफा २ अर्ब ७२ करोड रुपैयाँ भन्दा बढी छ । नाफा बढाउँनेमा नम्बर एक भएपनि नाफा कमाएको  रकमका आधारमा भने कुमारी तेस्रो स्थानमा छ । 


यस्तै एभरेष्ट,प्राइम कमर्सियल बैंकले पनि २ अर्ब रुपैयाँभन्दा बढी नाफा गरेका छन् । यता नेपाल बैंकको नाफा पनि १८३ प्रतिशतले बढेर १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ पुगेको छ । राष्ट्रिय बाणिज्य बैंकको नाफा  १३२ प्रतिशतले बढेर १ अर्ब ७७ करोड रुपैयाँ भन्दा बढी रहेको छ । 


यस्तै सिद्धार्थ बैंकको नाफा १५०.२० प्रतिशतले बढेको छ । यो सँगै यस बैंकले ६ महिनामा १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ भन्दा बढी नाफा गरेको छ । नेपाल एसबिआइ बैंकको नाफा १४.५६ प्रतिशतले बढेर १ अर्ब ३ करोड १३ लाख रुपैयाँ कायम भएको छ । यस्तै माछापुछ्रेको २५.२५ प्रतिशतले नाफा बढेर १ अर्ब १ करोड ११ लाख रुपैयाँ पुगेको छ । 

 

आठ वटा बैंकको नाफा घट्दा एउटा बैंक नोक्सानमा 

सबैभन्दा बढी नाफा घट्नेमा सिटिजन्स बैंक रहेको छ । यस बैंकको नाफा ४५.७८ प्रतिशतले घटेर ३५ करोड ८८ लातख रुपैयाँमा खुम्चिएको छ । गत वर्षको यसै अवधिमा बैंकको नाफा ६६ करोड १८ लाख रुपैयाँ रहेको थियो ।


यता सरकारी स्वामित्वका दुई बैंकले नाफा  बढाएपनि सरकारी स्वामित्वकै अर्को कृषि विकास बैंकको नाफा भने घटेको छ । कृषि विकास बैंकको नाफा २६.१२ प्रतिशतले घटेको हो । यस बैंकको नाफा ७० करोड ७४ लाख रुपैयाँ मात्र रहेको छ । 


यस्तै एनएमबी बैंकको १७.७१ प्रतिशतले नाफा घटेर १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि ४३.०५ प्रतिशतले घटेको छ । बैंकले चालु आवको ६ महिनामा १ अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको छ । 


सानिमा बैंकको नाफा १६.६७ प्रतिशतले घटेर १ अर्ब ३० करोड १० लाख रुपैयाँमा झरेको छ । यस्तै हिमालयन बैंकको नाफा १४.८९ प्रतिशतले घटेर १ अर्ब २९ करोड २६ लाख कायम भएको छ । प्रभु बैंकको नाफा २४.०८ प्रतिशतले घटेर १ अर्ब १ करोड ४४ लाख रुपैयाँमा झरेको छ । एनआइसी एशिया बैंकको नाफा १३.५४ प्रतिशतले घटेको छ । एनआइशीको नाफा १३ करोड ११ लाख रुपैयाँ रहेको छ । 


लक्ष्मी सनराइज बैंक भने नोक्सानमा रहेको छ । यसको खुद नाफा २७ करोड ३६ लाख १५ हजार रुपैयाँ ऋणात्मक  रहेको छ ।