चिनियाँ उपमन्त्रीसँग लुम्बिनीको पर्यटन प्रवर्द्धनबारे छलफल

२०८० मंसिर ३० गते

चिनियाँ उपमन्त्रीसँग लुम्बिनीको पर्यटन प्रवर्द्धनबारे छलफल

बुटबल । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको विकास र बौद्ध धर्मको प्रचारप्रसारका लागि चीन सरकारसँग सहकार्यका लागि आग्रह गरेका छन्।

उपाध्यक्ष लामाले लुम्बिनी भ्रमणमा आएको चिनियाँ उपमन्त्री वाङ रुइजुनसँग शुक्रबार लुम्बिनीमा गर्नुभएको भेटमा बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य, बुद्ध शिक्षाको प्रवद्र्धनसँगै लुम्बिनीको पर्यटन प्रवर्द्धननबारे छलफल गरेको बताए।

Advertisement:

Ad
Ad

उपाध्यक्ष लामाले धार्मिक र सांस्कृतिक आदानप्रदानसँगै लुम्बिनीमा चिनियाँ पर्यटक भित्र्याउन चिनियाँ उपमन्त्री वाङसँग आग्रह गरे। उनले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ पर्यटक भित्र्याउन चीनको गोञ्जाउ विमानस्थलबाट सिधा उडान सञ्चालनका लागि आग्रह गरेको जानकारी दिए।

त्यस अवसरमा चिनियाँ उपमन्त्री वाङले चिनियाँलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने वातावरण बनाउने र गौतबुद्ध विमानस्थलमा उडानका सन्दर्भमा पनि सम्बन्धित निकायसँग छलफल गर्ने आश्वासन दिएका थिए।

उपाध्यक्ष लामाका अनुसार उनले लुम्बिनीको विकास, संरक्षण र धार्मिक सांस्कृतिक सहकार्यका लागि आफूहरू सकरात्मक रहेको बताएका थिए।

भेटमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन राई, नेपाल–चीनमैत्री समाज, लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाको उपस्थिति थियो।