२०८३ जेठ ३१ गते
काठमाडौं । असार महिनाका लागि पनि निक्षेपको ब्याजदर घटेको छ । वाणिज्य बैंकहरूले असार महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएर सार्वजनिक गरेका छन् ।असारका लागि २० मध्ये २ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा पनि तल झारेका छन् ।
१३ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको माथिल्लो ब्याजदर यथावत राखेका छन् । ७ बैंकले भने घटाएका छन् । तथापि कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् ।जेठको तुलनामा असारका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.०८ प्रतिशत बिन्दुले घटाएका हुन् ।
एनएमबि, कुमारी, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, एनआईसी एशिया, लक्ष्मी सन्राइज र प्राइम कमर्सिलय बैंकले असारका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् ।
ब्याजदर ४ प्रतिशतभन्दा पनि कम हुनेमा कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन् । कुमारी बैंकले ब्याजदर ३.९६ प्रतिशतबाट ३.९१ प्रतिशतमा घटाएको छ । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४ प्रतिशतबाट ३.९५ प्रतिशतमा घटाएको छ । हिमालयन बैंकले जेठमा ४.२५ प्रतिशत रहेकोमा असारमा ०.२५ प्रतिशत बिन्दुले घटाएर ४ प्रतिशत बनाएको छ ।
जेठमा सर्वाधिक ४.८ प्रतिशत ब्याजदर रहेको एनएमबि बैंक असार सर्वाधिक ब्याजदर प्रदान गरेको छ । बैंकले असारमा जेठको भन्दा ०.०५ प्रतिशत बिन्दुले ब्याजदर घटाएर व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.७५ प्रतिशत ब्याजदर दिने भएको हो ।
असारमा ब्याजदर यथावत राख्नेमा राष्ट्रिय वाणिज्य बैंक, प्रभु, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा माछापुच्छ्रे, ग्लोबल आईएमई, नेपाल एसबीआई, नेपाल कृषि विकास, सिटिजन्स, सिद्धार्थ र एभरेष्ट छन् ।
पछिल्लो समय बैंकमा निक्षेप थुप्रने र ऋणको माग अत्यन्तै न्यून हुदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार घटाइरहेका छन् । बैंकिङ क्षेत्रमा १३ खर्ब भन्दा बढी अधिक तरलता छ । केन्द्रिय बैंकले पनि तरलता व्यवस्थापन गर्न विभिन्न औजारहरु प्रयोग गरिरहेको छ ।
प्रतिक्रिया