राजस्व उठाउन अर्थमन्त्रीको ‘मिसन मोड’, १४ भन्सारमा तीन महिनाभित्र स्क्यानर जडानको निर्देशन

२०८३ साउन १२ गते

राजस्व उठाउन अर्थमन्त्रीको ‘मिसन मोड’, १४ भन्सारमा तीन महिनाभित्र स्क्यानर जडानको निर्देशन

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले बिग्रँदै गएको राजस्व संकलनको लय सुधार्न र कर चुहावट नियन्त्रणलाई सरकारको प्राथमिकतामा राख्दै राजस्व प्रशासनलाई ‘मिसन मोड’मा काम गर्न निर्देशन दिएका छन्।

 

Advertisement:

Ad
Ad

उनले चालु आर्थिक वर्षको राजस्व लक्ष्य कुनै सामान्य लक्ष्य नभई पूरा गर्नैपर्ने राष्ट्रिय दायित्व भएको भन्दै भन्सार र आन्तरिक राजस्व प्रशासनलाई नतिजामुखी ढंगले परिचालन हुन आग्रह गरेका छन्।

 

सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकमा बोल्दै उनले आगामी तीन महिनाभित्र देशका १४ प्रमुख भन्सार कार्यालयमा सवारी साधन स्क्यानर जडान गर्न निर्देशन दिए। यसअघि जडान गरिए पनि सञ्चालनमा नरहेका स्क्यानर तत्काल मर्मत गरी प्रयोगमा ल्याउन पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

 

अर्थमन्त्री वाग्लेले नेपालमा राजस्व संकलनको गति कमजोर बन्दै गएको र कर चुहावटका गुनासा बढ्दै गएको उल्लेख गर्दै अब यस्तो अवस्था स्वीकार्य नहुने स्पष्ट पारे। उनका अनुसार कर प्रशासनको उद्देश्य करदातालाई दबाबमा पार्नु नभई विश्वासको वातावरण सिर्जना गर्दै स्वेच्छाले कर तिर्न प्रेरित गर्नु हुनुपर्छ।

 

करदातालाई तर्साएर होइन, प्रोत्साहित गरेर करको दायरामा ल्याउनुपर्छ उनले भने, राजस्व प्रशासनले सेवामुखी र पारदर्शी कार्यशैली अपनाउनुपर्छ।

 

उनले राजस्व संकलनको लक्ष्य वैज्ञानिक र यथार्थपरक बनाउन, कर प्रशासनलाई तथ्यमा आधारित ढंगले सञ्चालन गर्न तथा कर्मचारीलाई परम्परागत कार्यशैलीबाट बाहिर निस्केर परिणाममुखी रूपमा काम गर्न पनि निर्देशन दिए ।

 

भन्सार र आन्तरिक राजस्व विभागलाई प्रविधिको अधिकतम प्रयोग गर्दै कर चुहावट नियन्त्रण गर्न आग्रह गर्दै उनले आवश्यक स्रोत–साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए। साथै कर सचेतना अभियान, सरकारले घोषणा गरेको कर छुट योजना तथा करदाता प्रोत्साहन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि निर्देशन दिए।

 

बैठकमा अर्थसचिव घनश्याम उपाध्याय ले आर्थिक गतिविधि र राजस्व संकलनबीच देखिएको अन्तरको कारण पहिचान गरी सुधारका लागि मातहतका निकायलाई सक्रिय हुन निर्देशन दिएका थिए।

 

राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले चालु आर्थिक वर्षको राजस्व संकलनको अवस्था र लक्ष्यबारे प्रस्तुतीकरण गरेका थिए। त्यसैगरी भन्सार विभाग का महानिर्देशक यमलाल भूसालले भन्सार राजस्वको वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी गराएका थिए भने आन्तरिक राजस्व विभाग का उपमहानिर्देशक जनकराज शर्माले कर छुट योजना र करदाता प्रोत्साहन कार्यक्रमको कार्यान्वयन अवस्थाबारे जानकारी दिएका थिए।