२०८३ भदौ ०९ गते
काठमाडौँ । आन्तरिक राजस्व विभागले करदातालाई थप सहज र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ ‘ट्याक्स पोर्टल’ सार्वजनिक गरेको छ ।
मंगलबार लाजिम्पाटस्थित विभागको कार्यालयमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक डा।भीष्मकुमार भूसालले नयाँ पोर्टल सार्वजनिक गर्दै सुरुआती चरणमा एक महिनासम्म पुरानो र नयाँ दुवै प्रणाली सञ्चालनमा रहने जानकारी दिए ।
उनले करदातालाई नयाँ प्रणाली प्रयोग गर्न अभ्यस्त बनाउन पुरानो प्रणाली पनि तत्काल बन्द नगरिएको बताए । अहिले दुवै पोर्टलको बाह्य स्वरूप करिब उस्तै राखिएको भएपनि एक महिनापछि पुरानो प्रणाली बन्द भएपछि नयाँ पोर्टलको थप आकर्षक र प्रयोगकर्तामैत्री इन्टरफेस पूर्ण रूपमा लागू हुने उनले बताए।
उनले भने,‘अहिले करदातालाई कन्फ्युजन नहोस् भनेर नयाँ र पुरानो भर्सनको इन्टरफेस उस्तै राखेका छौँ। नयाँ भर्सन प्रयोग गर्न प्रोत्साहित गर्छौं, तर सुरुआती चरणमा प्राविधिक समस्या देखिएमा पुरानो प्रणाली पनि एक महिनासम्म यथावत् रहन्छ।’
नयाँ प्रणाली सबै प्रकारका ब्राउजरमा सहज रूपमा सञ्चालन हुने विभागले जनाएको छ। यसअघि मोजिल्ला फायरफक्समा राम्रोसँग काम गर्ने उल्लेख गरिएको प्रणालीलाई अब विभिन्न ब्राउजरबाट प्रयोग गर्न सकिने महानिर्देशक भूसालले बताए।
प्रतिक्रिया