२०८३ कात्तिक ०९ गते
काठमाडौँ । रसुवा भोटेकोशी बाढीले बगाएपछि स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माणको काम तीव्रगतिमा अघि बढेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा कार्यलाई गति दिइएको हो।
यसैबीच, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेती नेतृत्वको टोलीले स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका विभिन्न निर्माणको शनिबार स्थलगत अवलोकन तथा अनुगमन गरेको छ।
गत भदौ १० गते भोटेकोशीमा गएको बाढी कारण जिल्ला सदरमुकाम धुञ्चेबाट स्याफ्रुबेँसी जोड्ने पक्की पुल बगाएको स्थानमा नयाँ बेलिब्रिज जडानका लागि फाउन्डेसन ९जग० निर्माण सुरु भइसकेको छ।
सो बेलिब्रिज जडान आगामी तिहारअघि नै सम्पन्न गर्ने लक्ष्यका साथ चौबिसै घन्टा काम भइरहेको जनाइएको छ।
यसैगरी, बाढीका कारण आवतजावतमा अवरोध पुगेको स्याफ्रुबेँसी–ब्रिद्विम जोड्ने फड्के पुल निर्माणका लागि जिल्ला प्रशासन कार्यालयले फलामको लट्टे (स्टिल केबलरसामग्री) उपलब्ध गराएको छ।
सामग्री उपलब्ध भएसँगै सो क्षेत्रका बासिन्दाको आवतजावत सहज बनाउन फड्के पुलको काम पनि सँगसँगै अघि बढाइएको प्रशासनले जनाएको छ।
प्रतिक्रिया