२०८३ वैशाख २५ गते
काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाएर मासिक २५ हजार रुपैयाँ पुर्याउनुपर्ने माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले यस्तो माग राखेका हुन् ।
हालको महँगीमा श्रमिकहरूलाई खान समेत मुस्किल परेको भन्दै उनले कम्तीमा २५ हजार पारिश्रमिक भए मात्र जीवनयापन सहज हुने बताए । उनले श्रमिकहरूको सुरक्षाका लागि सामाजिक सुरक्षा कोष ९एसएसएफ० लाई अनिवार्य र अझ बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । सेवा प्रदायक संस्थाहरू कोषमा आबद्ध हुन हिचकिचाइरहेको अवस्थालाई ध्यान दिँदै उनले त्यस्ता संस्थाहरूलाई कर छुट लगायतका प्रोत्साहन दिने नीति ल्याउन सरकारलाई सुझाव दिए ।
विशेष गरी महिला श्रमिकहरूलाई प्राथमिकतामा राखेर सामाजिक सुरक्षाको व्यावहारिक कार्यान्वयन हुनुपर्ने उनको भनाइ थियो । स्वदेशमै रोजगारी सिर्जना गर्न सीप विकासमा लगानी गर्नुपर्ने तर्क गर्दै उनले भने, ‘हामीले कालिगड र हजामहरू समेत बाहिरबाट ल्याइरहेका छौं, अब आफ्नै जनशक्तिलाई दक्ष बनाउनुपर्छ ।’
सांसद थेबेले हरेक पालिका वा वडामा ‘क’ वर्गका बैंकमार्फत स्टार्टअप व्यवसायमा लगानी गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरे । यसरी लगानी र रोजगारीलाई जोड्न सके वर्षमा १० लाखका दरले ५ वर्षमा ५० लाख नेपालीलाई स्वदेशमै रोजगारी दिन सम्भव रहेको उनले दाबी गरे । उनले प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता योजनालाई अझ प्रभावकारी बनाएर युवाहरूलाई देशमै रोक्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया