सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य सुधार,चुनौतिपूर्ण बैंकिङ वातावरणका बीच खुद नाफा ४७ प्रतिशतले वृद्धि

२०८३ साउन ०६ गते

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य सुधार,चुनौतिपूर्ण बैंकिङ वातावरणका बीच खुद नाफा ४७ प्रतिशतले वृद्धि

काठमाडौं । चुनौतीपूर्ण बैंकिङ वातावरणका बीच सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ मा नाफामा उल्लेख्य सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा एकै वर्षमा करिब ४७ प्रतिशतले वृद्धि भएको हो।

 

Advertisement:

Ad
Ad

गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ६० करोड ६६ लाख रुपैयाँ थियो। यस आधारमा बैंकको नाफा ४६.६९ प्रतिशत ले बढेको देखिन्छ।

 

नाफा वृद्धिमा बैंकको मुख्य आम्दानी स्रोत अर्थात् खुद ब्याज आम्दानीको विस्तारले महत्त्वपूर्ण योगदान दिएको छ। उच्च तरलता, घट्दो ब्याजदर र तीव्र प्रतिस्पर्धाबीच पनि बैंकले स्प्रेड दर सन्तुलित राख्दै खुद ब्याज आम्दानी १६.८३ प्रतिशत ले बढाएर २ अर्ब ४२ करोड रुपैयाँ पुर्‍याएको छ।

 

फि तथा कमिसनबाट हुने आम्दानी पनि बढेको छ। यो आम्दानी २१ करोड ४७ लाख रुपैयाँबाट २५ करोड ७३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, अन्य सञ्चालन आम्दानी १७ करोड ५० लाख रुपैयाँबाट २७ करोड ५४ लाख रुपैयाँ पुगेकाले समग्र आम्दानीमा थप टेवा पुगेको देखिन्छ।

 

बैंकले खराब कर्जाको सम्भावित जोखिम व्यवस्थापनका लागि गत आर्थिक वर्षमा ९ करोड १४ लाख रुपैयाँ मात्र प्रोभिजन गरेको छ। अघिल्लो वर्ष भने यस्तो प्रोभिजन ३४ करोड ५५ लाख रुपैयाँ रहेको थियो। प्रोभिजन खर्च घटेसँगै सञ्चालन मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ। बैंकको सञ्चालन मुनाफा ८८ करोड ४४ लाख रुपैयाँबाट बढेर १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ।

 

नाफासँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि १७ रुपैयाँ ६ पैसाबाट २३ रुपैयाँ ८३ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५० पैसा कायम हुँदा रिटर्न अन इक्विटी (आरओई) १०.७८ प्रतिशतबाट १४.५२ प्रतिशत पुगेको छ। मूल्य-आम्दानी अनुपात (पीई रेसियो) १६.५९ गुणा रहेको छ।

 

बैंकको पुँजी पर्याप्तता अनुपात १४.६३ प्रतिशत तथा प्राथमिक पुँजीकोष अनुपात ११.५९ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।व्यवसाय विस्तारतर्फ पनि बैंकले सामान्य वृद्धि कायम राखेको छ। निक्षेप ४.१२ प्रतिशत ले बढेर ५६ अर्ब ९२ करोड १७ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ७.१२ प्रतिशत ले बढेर ४५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।

 

यद्यपि, बैंकको निष्क्रिय कर्जा (एनपीएल) भने बढेको छ। अघिल्लो वर्ष ५.५२ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आर्थिक वर्षको अन्त्यसम्म ६.८७ प्रतिशत पुगेको छ।

 

३ अर्ब ७३ करोड ४१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आर्थिक वर्षको नाफाका आधारमा करिब १३.१९ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको वित्तीय विवरणले देखाएको छ।