पोखराको सेती नदी थुनिँदा झरना बन्यो, स्थानीय त्रसित

२०८३ साउन ०३ गते

पोखराको सेती नदी थुनिँदा झरना बन्यो, स्थानीय त्रसित

पोखरा । पोखरा महानगरपालिका–१५ र १७ को सीमामा पर्ने रातोपहिरा क्षेत्रमा करिब दुई महिनाअघि गएको सुख्खा पहिरोका कारण सेती नदीको बहाव आंशिक रूपमा अवरुद्ध भएपछि त्यहाँ प्राकृतिक झरनाजस्तो दृश्य देखिएको छ । 

 

Advertisement:

Ad
Ad

नदी थुनिँदा ठूलो जलाशयसमेत बनेको भन्दै स्थानीयले सम्भावित विपद्को जोखिमप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायसँग तत्काल स्थलगत अध्ययन, नियमित अनुगमन र आवश्यक सुरक्षा तयारी गर्न आग्रह गरेका छन् । 


सुख्खा पहिरोले नदीको बहाव रोकिएपछि करिब ५० मिटर माथिसम्म पानीको बहाब पुगेर पानी झर्नाको रुपमा खसेको स्थानीय भगवान पोखरेलले बताए। सेती नदीमा पानीको बहाब बढ्नु, नदीको पानी थुनिनुले ताल बनेको जलाशय एकै पटक फुटे तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने भन्दै उहाँले समयमै जोखिम मूल्याङ्कन र आवश्यक व्यवस्थापन गर्नुपर्ने माग गरे । 

 

स्थानीय तथा पत्रकार हरि बास्तोलाले पहिरो थुनिएको क्षेत्रको दायाँ–बायाँ भाग अझै बिस्तारै भासिने र थप पहिरो खस्ने क्रम जारी रहेको बताए । थुनिएको भाग अचानक भत्किने वा थप पहिरो खस्ने जोखिम बढाएको उनले जनाए । 

 

स्थानीयवासीका अनुसार नदी थुनिएपछि बनेको जलाशयका कारण आसपासको भू–भाग पनि कमजोर बन्दै गएकोले त्रसित हुनु भएको छ । सेती नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न आग्रह गरिएको छ । 

 

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले रातोपहिरा क्षेत्रमा सेती नदीको केही भाग थुनिँदा पानीको सतह बढेको विषयमा जिल्ला प्रशासनको ध्यानाकर्षण भएको बताए । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत सुरक्षा निकायसँग छलफल गरी आवश्यक व्यवस्थापनका लागि छिट्टै पहल गरिने उनले जनाए । शनिबार बिहान सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले घटनास्थल पुगेर प्रारम्भिक अवलोकन समेत गरेको छ । निरन्तर वर्षाका कारण विस्तृत अध्ययनपछि आवश्यक निर्णय लिइने बताउँदै प्रजिअ गुरुङले स्थानीयलाई विशेष सतर्कता अपनाउन आग्रह गरे । 

 

पृथ्वीनारायण क्याम्पस, पोखराका भूगोल विभाग प्रमुख डा। रामजीप्रसाद पोखरेलले सेती नदीमा पानी थुनिएर जलाशय बन्नु नजिकका बस्तीका लागि गम्भीर जोखिमको सङ्केत भएको बताए । तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै आवश्यक परे जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने तयारीसमेत गर्नुपर्ने उनको सुझाव छ । 

 

धर्तीफाँट क्षेत्रमा पनि पानीको सतह बढे त्यहाँको माटो पानीमा सजिलै घुल्ने प्रकृतिको भएकाले थप जोखिम उत्पन्न हुन सक्ने भूगोलविद् पोखरेलले बताए। “पोखरा जति प्राकृतिक रूपमा सुन्दर छ, त्यति नै भू–जोखिमको दृष्टिले संवेदनशील पनि छ । केही क्षेत्रमा वर्षापछि माटो घुल्ने, धर्ती फाट्ने र भ्वाङ पर्ने समस्या देखिने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनुपर्छ,” डा। पोखरेलले भने ।