सेबोनले ल्यायो १० वर्षे पुँजी बजार विकास मार्गचित्र, जीडीपीको १५० प्रतिशत पुर्‍याउने लक्ष्य

२०८३ असार ३१ गते

सेबोनले ल्यायो १० वर्षे पुँजी बजार विकास मार्गचित्र, जीडीपीको १५० प्रतिशत पुर्‍याउने लक्ष्य

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पुँजी बजारलाई राष्ट्रिय आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने उद्देश्यसहित ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेको छ। १२४ पृष्ठको उक्त मार्गचित्रले आगामी १० वर्षका लागि पुँजी बजार सुधार, विस्तार र आधुनिकीकरणको स्पष्ट रणनीति अघि सारेको छ।

 

Advertisement:

Ad
Ad

मार्गचित्रमा हालको बैंकिङ प्रणालीमा आधारित वित्तीय संरचनालाई पूरक बनाउँदै पुँजी बजारमार्फत दीर्घकालीन लगानी प्रवाह बढाउने, निजी क्षेत्रलाई सशक्त बनाउने तथा उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालन गर्ने लक्ष्य राखिएको छ। यसका लागि कानुनी तथा नियामकीय सुधार, संस्थागत सुदृढीकरण, लगानीकर्ता संरक्षण, वित्तीय उपकरणको विविधीकरण, प्रविधिमैत्री कारोबार प्रणाली र विदेशी संस्थागत लगानी भित्र्याउने नीति अवलम्बन गरिने उल्लेख गरिएको छ।

 

मार्गचित्रले सन् २०३६ सम्म बजार पुँजीकरणलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १५० प्रतिशतभन्दा माथि पुर्‍याउने, सूचीकृत कम्पनीको संख्या ५०० भन्दा बढी बनाउने, दैनिक कारोबार ३० अर्ब रुपैयाँ पुर्‍याउने तथा एसएमई एक्सचेन्ज, ग्रीन बन्ड, कर्पोरेट बन्ड, डेरिभेटिभ्स, आरईआईटी, ईटीएफ र विदेशी पोर्टफोलियो लगानीलाई क्रमशः सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ। साथै, संस्थागत लगानीकर्ताको सहभागिता उल्लेखनीय रूपमा बढाउने र पुँजी बजारलाई दक्षिण एशियाकै विश्वसनीय, पारदर्शी, प्रविधिमैत्री तथा प्रतिस्पर्धी वित्तीय प्रणालीका रूपमा स्थापित गर्ने दीर्घकालीन दृष्टि पनि मार्गचित्रले प्रस्तुत गरेको छ।