सहकारीको भरोसामा फक्रिएका सपनाहरु

२०८३ असार ०९ गते

सहकारीको भरोसामा फक्रिएका सपनाहरु

काठमाडौँ । सहकारी क्षेत्रमाथि अविश्वास, अनियमितता र बचतकर्ताको रकम जोखिममा परेको चर्चा चुलिँदै जाँदा यही भीडमा यस्ता सहकारी पनि छन्, जसले सुशासन, पारदर्शिता र सदस्यप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै हजारौँ परिवारको जीवनमा आशाको उज्यालो छरेका छन् ।

 

Advertisement:

Ad
Ad

सहकारीको वास्तविक उद्देश्य केवल बचत संकलन र ऋण प्रवाह गर्नु मात्र होइन, सदस्यको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउनु पनि हो । जब सहकारीको लगानी पौरखीसँग जोडिन्छ, तब त्यो रकम केवल कारोबारमा सीमित रहँदैन, जीवन बदल्ने अवसरमा रूपान्तरित हुन्छ ।

 

काठमाडौंको कुश्मावती बचत तथा ऋण सहकारी, धादिङको मुरलीभञ्ज्याङ साना किसान कृषि सहकारी र मिलिजुली बचत तथा ऋण सहकारीमार्फत अगाडि बढेका नारायण भण्डारी, बिमला कोइराला र शान्ती खड्काका जीवनकथा त्यसैका ज्वलन्त उदाहरण हुन्। यीमध्ये कसैले सहकारीको ऋणबाट व्यवसाय विस्तार गरे, कसैले तरकारी खेतीमार्फत आर्थिक आत्मनिर्भरता हासिल गरे भने कसैले बाख्रापालनलाई रोजेर संघर्षपूर्ण जीवनलाई समृद्धितर्फ डोर्याए ।

 

यी केवल तीन व्यक्तिका सफलताका कथा मात्र होइनन्, सही ढंगले सञ्चालन भएको सहकारीले आम मानिसको सपना, संघर्ष र सम्भावनालाई कसरी सफलतामा बदल्न सक्छ भन्ने गतिलो उदाहरण हो ।

सहकारीले दियो भरोसा, बिमलाले लेखिन् समृद्धिको कथा

 

घरखर्च धान्न धौधौ पर्ने दिनबाट सुरु भएको बिमलाको संघर्षको यात्रा आज सफलताको प्रेरणादायी कथामा रूपान्तरित भएको छ । धादिङको नीलकण्ठ नगरपालिका–८, सशाकी ४२ वर्षीया बिमला कोइराला अहिले उक्त भेगकै उदाहरणीय महिला कृषकका रूपमा परिचित छिन्। कुनै समय दैनिक खर्च जुटाउनसमेत संघर्ष गर्नुपर्ने अवस्थाबाट गुज्रिएकी उनी आज तरकारी खेतीबाट सबै खर्च कटाएर मासिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएकी छिन्।

 

पौरख र पसिनाले सिँचेको उनको खेतबारीले अहिले हरियाली मात्र होइन, समृद्धिको सुगन्ध पनि छरिरहेको छ । तरकारी खेतीबाट प्राप्त सफलताले उनलाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको छ भने गाउँका अन्य महिलाका लागि पनि प्रेरणाको दीप बनेकी छिन्। विभिन्न संघसंस्थाबाट सम्मानित र पुरस्कृत हुँदा उनीभित्रको आत्मविश्वास अझ उचालिएको छ ।

 

यो सफलताको श्रेय भने उनी केवल आफ्ना मेहनती हातलाई मात्र दिँदिनन्। उनी भन्छिन्, ‘मेरो पौरखलाई दिशानिर्देश गर्ने अर्को हात सहकारीको हो।’ धादिङको नीलकण्ठ नगरपालिकास्थित मुरलीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थासँग जोडिएपछि उनको जीवनले नयाँ मोड लिएको थियो । सहकारीले दिएको साथ, विश्वास र सहज वित्तीय पहुँचले उनलाई थप कर्मशील बनायो । जेठ महिनामा मात्रै उनले दुई हजार दुई सय केजी तरकारी बिक्री गरेर झण्डै ८० हजार रुपैयाँ आम्दानी गरिन्।

 

तरकारी खेतीबाट उत्साहित बनेकी बिमलाले त्यतिमै आफूलाई सीमित राखिनन्। सहकारीबाट थप ऋण लिएर उनले कुखुरा फार्म सञ्चालन सुरु गरिन्। समयले पनि उनको मेहनतलाई साथ दियो। लगानीले प्रतिफल दिन थाल्यो र आज उनी यस्तो उचाइमा पुगेकी छिन्, जहाँबाट पछाडि फर्केर हेर्नुपर्ने अवस्था आएको छैन।

 

गाउँमै उदाहरणीय कृषकका रूपमा स्थापित भएकी कोइरालाको कामले स्वदेशी मात्र होइन, विदेशी संघसंस्थाको ध्यानसमेत खिचेको छ । हालै उनी हेफर इन्टरनेशनलबाट १० हजार रुपैयाँ नगदसहित सम्मानित भइन्। पुरस्कारभन्दा पनि आफ्नो संघर्षको मूल्याङ्कन भएकोमा उनी बढी खुसी छिन्।

 

सहकारीबाट ऋण लिन मात्र होइन, ऋण तिर्न पनि उनी सधैं हतारिन्छिन्। त्यसैले त उनी संस्थाकी असल ऋणीका रूपमा चिनिन्छिन्। बिमला भन्छिन्, “सहकारीले मलाई ऋण मात्रै दिएको होइन, आत्मविश्वास दिएको छ । 

 

भौँतारिरहेका थिए नारायण, भरोसाको स्तम्भ बन्यो कुश्मावती
 

भक्तपुरका नारायण भण्डारी,करिब एक दशकअघि व्यवसाय विस्तारका लागि पूँजीको खाँचो परेर भौँतारिरहेका थिए । बैंकका ढोका ढोका चहारे, तर झन्झटिला कागजी प्रक्रिया र अनेकन् सर्तहरूले उनलाई निराश बनायो । व्यक्तिगत रूपमा ऋण लिँदा पर्ने चर्को ब्याजको भार थेग्ने अवस्था थिएन।

 

त्यही बेला कसैले उनलाई काठमाडौँ नरेफाँटमा रहेको कुश्मावती बचत तथा ऋण सहकारीको बाटो देखाइदियो। ‘ढुंगा खोज्दा देउता भेटिएझैँ भयो।’ सहकारीको सदस्य पनि बने केही समयपछि सहकारीबाट तीन लाख रुपैयाँ ऋण लिए ।

 

त्यही रकमबाट उनले अरनिको यातायात अन्तर्गत एउटा गाडी खरिद गरेर व्यवसाय सुरु गरे। व्यवसाय विस्तार हुँदै गयो, आम्दानी बढ्दै गयो थप पूँजीको आवश्यकता महसुस भयो। सहकारीले पनि उनको मेहनत र इमान्दारितामाथि विश्वास गर्दै ऋणको सीमा बढाउँदै लग्यो। अन्ततः उनले १३ लाख रुपैयाँसम्म ऋण सुविधा लिए।त्यही लगानीले उनको व्यवसायलाई नयाँ उचाइमा पुर्यायो। व्यवसाय बढ्दै जाँदा आम्दानी दोब्बर भयो, आर्थिक अवस्था मजबुत बन्यो र आज उनले सहकारीको सम्पूर्ण ऋण चुक्ता गरिसकेका छन्। कुश्मावती सहकारीले असल ऋणीको उदाहरण दिनुपर्दा सबैभन्दा पहिले सम्झने नाममध्ये नारायण भण्डारी पर्छन्।

 

आफ्नो संघर्ष र सफलताको यात्रालाई सम्झिँदै भण्डारी भन्छन्, ‘जीवनको कठिन घडीमा मेरो सारथी बनेको कुश्मावती सहकारीप्रति मेरो अगाध भरोसा छ। मलाई लाग्छ, सहकारी नै साना तथा मझौला व्यवसायीहरूको आधारशीला हो। सही ढंगले सञ्चालन हुने सहकारीले सामान्य मानिसको सपना साकार पार्न सक्छ ।’

 

मेलापातबाट उद्यमसम्म :सहकारीको साथ र बाख्रापालनले फेरिएको शान्तीको जीवन

 

धादिङको गजुरी गाउँपालिका,थाक्रेकी शान्ती खड्काको दैनिकी केही वर्षअघिसम्म घरधन्दा, मेलापात र ज्यालामजदुरीमै सीमित थियो। बिहानदेखि साँझसम्म अरूको खेतबारीमा काम गर्दा पनि परिवारको खर्च धान्न मुस्किल पथ्र्यो। भविष्यप्रति कुनै ठोस योजना थिएन, थियो त केवल दैनिक गुजाराको चिन्ता ।

 

तर अहिले परिस्थिति फेरिएको छ। शान्तीको परिचय अब मजदुरका रूपमा होइन, सफल पशुपालक कृषकका रूपमा हुन थालेको छ । उनको जीवनमा आएको यो परिवर्तनको मुख्य आधार हो बाख्रापालन व्यवसाय ।

 

‘पहिले जति दुःख गरे पनि घरखर्च धान्न गाह्रो हुन्थ्यो,’ शान्ती विगत सम्झिन्छिन्, ‘अहिले बाख्रापालनले परिवार चलाउन सहज भएको छ। छिमेकीलाई अप्ठ्यारो पर्दा सहयोग गर्न सक्ने अवस्था पनि बनेको छ।’

 

विसं २०७९ सालमा उनी स्थानीय मिलिजुली बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भइन्। आर्थिक स्रोतको अभावले केही गर्न नसकिरहेको अवस्थामा सहकारीले उनलाई नयाँ आशा दिएको थियो।‘सहकारीमा सदस्य बनेपछि ऋण लिन पाइन्छ भन्ने थाहा पाएँ। त्यसपछि केही गरेर देखाउनुपर्छ भन्ने आत्मविश्वास बढ्यो,’उनी भन्छिन्।

 

सहकारीबाट प्राप्त ऋणको सुरुआती रकमबाट उनले दुईवटा बाख्राका पाठी खरिद गरिन्। सानो प्रयासबाट सुरु भएको व्यवसाय विस्तार हुँदै गयो। पछि थप ऋण लिएर उनले व्यवस्थित खोर निर्माण गरिन् र पशुपालनलाई व्यावसायिक रूप दिन थालिन्।‘खोर बनाउन करिब एक लाख रुपैयाँ लाग्यो,’उनी भन्छिन्, ‘बाँकी रकमले बाख्राका लागि दाना, घाँस र घरपरिवारको व्यवस्थापनमा सहयोग पुग्यो। त्यही आँटले आज यो अवस्था बनाएको हो।’

 

अहिले शान्तीको खोरमा स्थानीय तथा उन्नत जातका ८० बढी बाख्राहरू छन्। बाख्रासँगै उनले गाईपालन पनि थालेकी छिन्। पशुपालनबाट हुने आम्दानीले घरखर्च मात्र धानेको छैन, परिवारको आर्थिक अवस्था समेत सुधारिएको छ ।

 

शान्ती एक्लै परिवर्तनको उदाहरण भने होइनन्। यस क्षेत्रमा सहकारीमार्फत ऋण लिएर पशुपालन, कृषि तथा साना उद्यममा लाग्ने महिलाको संख्या बढ्दो छ । केही महिलाले विदेशबाट फर्किएपछि पशुपालन रोजेका छन् भने कतिपयले रोजगारीको अभावबीच यही क्षेत्रमा सम्भावना देखेका छन्।

 

आफ्नो अनुभवले उत्साहित शान्ती खड्का अब अन्य महिलालाई पनि उद्यमतर्फ प्रेरित गरिरहेकी छन्। उनी स्थानीय महिला समूहमार्फत बाख्रापालन सम्बन्धी अनुभव र सीप बाँड्ने काममा समेत सक्रिय छिन्।

 

ग्रामीण क्षेत्रमा सहकारीसँगको पहुँच, सानो लगानी र आत्मविश्वासले कसरी एक महिलाको जीवन बदल्न सक्छ भन्ने उदाहरण बनेकी छन् शान्ती खड्का । उनको यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, ग्रामीण महिला उद्यमशीलताको एउटा प्रेरणादायी कथा पनि हो ।