४० अर्ब निक्षेप खिच्दै केन्द्रीय बैंक

२०८२ चैत १५ गते

४० अर्ब निक्षेप खिच्दै केन्द्रीय बैंक

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब रुपैयाँ बराबरको निक्षेप खिच्ने भएको छ। वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेकाले केन्द्रीय बैंकले २१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत पुनः रकम संकलन गर्न लागेको हो, जसका लागि बोलकबोल प्रक्रिया अपनाइनेछ।

हाल कुल निक्षेप ७७ खर्ब रुपैयाँ नाघिसकेको छ। यही अधिक तरलता र ब्याजदर सन्तुलनमा राख्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ। यस बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

Advertisement:

Ad
Ad

 

बोलकबोलमा सहभागी संस्थाहरूले प्रस्ताव गरेको ब्याजदरका आधारमा रकम बाँडफाँट गरिनेछ। कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै आह्वान गरिएको कुल रकमसम्म क्रमशः निक्षेप स्वीकृत गरिने व्यवस्था गरिएको छ।

अनलाइन प्रणालीमार्फत हुने यस बोलकबोलमा ब्याजदर पनि प्रतिस्पर्धात्मक रूपमा निर्धारण हुनेछ। राष्ट्र बैंकका अनुसार, यस निक्षेप संकलन उपकरणको सावाँ र ब्याज २०८३ वैशाख ६ गते भुक्तानी गरिनेछ। बोलकबोलका लागि न्यूनतम १० करोड रुपैयाँ प्रस्ताव गर्न पाइनेछ भने अधिकतम सीमा ५ करोड रुपैयाँका गुणकमा रहनेछ।

 

केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार, दीर्घकालीन रूपमा अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन र बजार ब्याजदर सन्तुलनका लागि ६ महिनासम्म अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिन्छ। सोही प्रावधानअनुसार राष्ट्र बैंकले पछिल्लो समय यस्तो उपकरणमार्फत बारम्बार तरलता व्यवस्थापन गर्दै आएको छ।