महाधिवेशन व्यवस्थापनमा कमजोरी स्वीकार्दै विपिन आचार्यले मागे माफी

२०८३ असार ११ गते

महाधिवेशन व्यवस्थापनमा कमजोरी स्वीकार्दै विपिन आचार्यले मागे माफी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य पदका उम्मेदवार तथा पूर्व सहमहामन्त्री विपिन आचार्यले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार सम्पन्न हुन नसकेको विषयमा प्रतिनिधिहरूसँग सार्वजनिक रूपमा क्षमा मागेका छन्।

 

Advertisement:

Ad
Ad

महाधिवेशनको व्यवस्थापन तथा निर्वाचन प्रक्रियामा भएको ढिलाइलाई लिएर प्रतिनिधिहरूबाट असन्तुष्टि व्यक्त भइरहेका बेला आचार्यले नेतृत्व पक्षको तर्फबाट कमजोरी स्वीकार गरेका हुन्। उनले समयमै नयाँ नेतृत्व चयन गरी प्रतिनिधिहरू घर फर्किसक्नुपर्ने अवस्थामा अझै चितवनमै रोकिनुपरेको भन्दै दुःख व्यक्त गरेका छन्।

 

आचार्यले सामाजिक सञ्जालमार्फत जारी सन्देशमा भनेका छन्, “सामान्य परिस्थितिमा अहिले सम्ममा पार्टीको नयाँ केन्द्रीय समिति र पदाधिकारी चयन भइसकेर महाधिवेशन सम्पन्न हुनुपर्ने थियो। तर हाम्रो व्यवस्थापकीय कमजोरीका कारण तपाईंहरू अझै चितवनमै बस्न बाध्य हुनुभएको छ। यसले हामीलाई गम्भीर रूपमा आत्मालोचित बनाएको छ।”

 

उनले असार महिनाको व्यस्त कृषि कार्यका बीच प्रतिनिधिहरूले समय र आर्थिक स्रोत खर्च गर्नुपरेको उल्लेख गर्दै त्यसबाट भएको असुविधाप्रति नेतृत्व लज्जित भएको बताए। साथै, सहभागी प्रतिनिधिहरूले देखाएको धैर्यता र पार्टीप्रतिको प्रतिबद्धताको प्रशंसा समेत गरेका छन्।

 

आचार्यले अब केही घण्टाभित्र सुरु हुने मतदान प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै प्रतिनिधिहरूलाई महाधिवेशनस्थल नछोड्न अनुरोध गरेका छन्। उनले विगतका कमजोरीबाट शिक्षा लिएर आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

 

महाधिवेशन लम्बिँदै गएपछि केही प्रतिनिधिहरूले चितवन छाड्ने तयारी गरेको जानकारी पार्टी नेतृत्वसम्म पुगेको अवस्थामा आचार्यको यो अपिल सार्वजनिक भएको हो।