२०८३ असार ११ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनको पाँचौं दिन बुधबार राती १२ बजेबाट मतदान सुरु भएको छ ।असार ७ गतेबाट सुरु भएको महाधिवेशन ११ गतेको पहिलो घण्टा अर्थात १२ बजे मतदान सुरु भएको हो ।
यसअघि राति साढे ११ बजे मात्रै उम्मेदवारको नामावली सकिए लगत्तै मतदान सुरु भएको स्रोतले जनाएको छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको मतदानको समय आज दिउँसो १२ बजेसम्मका लागि तोकिएको छ ।मतदान उद्योग संघको हलमा जारी छ ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीले आज बिहान ८ बजेसम्म २ हजार १०० महाधिवेशन प्रतिनिधिले मतदान गरेको बताएका छन् । ३८ सयदेखि ३९ सयसम्म महाधिवेशन प्रतिनिधिले मतदान गर्ने रास्वपाको अनुमान छ ।
रास्वपाका विदेशमा रहेका प्रतिनिधिहरुलाई भने उतैबाट मोबाइल एपबाट मतदान गर्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।रास्वपाको सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । केन्द्रीय सदस्यहरु चयन भइसकेपछि पदाधिकारीको निर्वाचन गराउने तयारी छ ।
रास्वपाको विधानमा सभापति र केन्द्रीय सदस्यहरु टुंगो लागिसकेपछि बल्ल महाधिवेशन प्रतिनिधिहरुले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।रास्वपा विधानमा १९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचनबाट चुनिन्छन् भने ५१ जना केन्द्रीय सदस्यलाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।
प्रतिक्रिया