२०८२ मंसिर २१ गते
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्माको नवनिर्मित निवासको डिजाइन गर्ने इन्जिनियरलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पुनले प्रस्तावित कुटीको बिलासी प्रकृतिको निवासको डिजाइन गरिएको भन्दै उनले त्यसको कटाक्ष गरेका हुन् ।उनले लेखेका छन्,‘एकछिन रमाइलो’ ‘यो नक्सा डिजाइन गर्ने इञ्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ । अनि घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ । हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनु हुन्छ त उसले । कहाँसम्मको लापरवाही हो यो ?’
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते बालकोटस्थित ओली निवास जलेपछि भक्तपुरको गुण्डुमा नयाँ निवास बनाइँदैछ । ‘ओली कुटी’ नाम दिइएको भवनको शिलान्यास यही मंसिर १८ गते ओली पत्नी राधिकाले गरेकी थिइन् ।
बालकोट निवास आगजनी भएपछि ओली भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । अहिले ओली बस्दै आएको घर नजिकै करिब एक रोपनी क्षेत्रफलमा भवन बनाउन लागिएको हो । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार गुण्डुवासीले दिएको जग्गामा भवन निर्माण हुन लागेको हो ।
नयाँ भवनमा बैठक कक्षहरू र पुस्तकालय हुनेछ । नयाँ भवनमा ग्रीनहाउस र कौसीखेती गर्ने सुविधा पनि हुनेछ ।
प्रतिक्रिया