२०८३ असार १२ गते
काठमाडौँ। साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। साताको सुरुदेखि नै ओरालो लागेको बजारले शुक्रबार पनि सोही लयलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक दुई अंकले घट्दै २६४९.५१ विन्दुमा कायम भएको छ।
परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ। बिहीबार २ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको बजारमा शुक्रबार ३५९ वटा कम्पनीका ७७ लाख २७ हजार कित्ता शेयर ३९ हजार ५४६ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ९४ करोड ५८ लाख रुपैयाँ पुगेको छ।
आजको कारोबारमा स्नो रिभर्स, टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। टक्सार पिखुवा खोला र याम्बालिङ्ग यसै सातादेखि दोस्रो बजारमा कारोबारमा आएका कम्पनी हुन् भने स्नो रिभर्सको शेयर आज पहिलो दिन कारोबार भएको हो। अर्कोतर्फ, कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको शेयर मूल्य १०.७६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६/८७ अग्रस्थानमा रह्यो, जसको ३३ करोड १६ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसपछि ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४/८५ को २८ करोड ५० लाख रुपैयाँभन्दा बढी र ८.५ प्रतिशत नेपाल बैंक डिबेञ्चर २०८७ को २२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहतर्फ १३ मध्ये ५ उपसमूह हरियालीमा रहँदा ८ उपसमूह घटेका छन्। व्यापार उपसमूह सर्वाधिक १.०८ प्रतिशतले उकालो लाग्यो। साथै होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहमा पनि सामान्य वृद्धि देखिएको छ।
प्रतिक्रिया