अब नेप्से ५ प्रतिशतमा रोकिने, ८ प्रतिशत पुगे दिनभर बन्द

२०८२ चैत २४ गते

अब नेप्से ५ प्रतिशतमा रोकिने, ८ प्रतिशत पुगे दिनभर बन्द

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको तीव्र उतारचढावलाई व्यवस्थापन गर्न प्रयोग हुँदै आएको ‘सर्किट ब्रेकर’ प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्ने तयारी गरेको छ। ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ संशोधन गर्दै नेप्सेले सर्किट ब्रेकरको सीमा र समयसीमा दुवैमा हेरफेर गरेको हो, जसलाई नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले समेत स्वीकृति दिइसकेको छ।

अब बोर्डबाट औपचारिक स्वीकृतिपत्र नेप्सेमा पुगेपछि सञ्चालक समितिको बैठकले कार्यान्वयन मिति तय गर्नेछ। प्राविधिक तयारी लगभग पूरा भइसकेकाले नयाँ व्यवस्था चाँडै लागू हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

Advertisement:

Ad
Ad

 

के–के फेरियो?

संशोधित व्यवस्थाअनुसार अब नेप्से सूचक ५ प्रतिशतले घटबढ हुँदा पहिलो सर्किट ब्रेकर लाग्नेछ। कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र यस्तो अवस्था आएमा बजार १५ मिनेटका लागि रोकिनेछ। यसअघि ४ प्रतिशत उतारचढावमा २० मिनेट कारोबार रोक्ने व्यवस्था थियो। त्यसपछि, यदि सूचक ८ प्रतिशतसम्म पुगेमा भने सो दिनको सम्पूर्ण कारोबार बन्द हुनेछ। पहिले यो सीमा ६ प्रतिशतमा सीमित थियो। अब ४, ५ र ६ प्रतिशतको तीन तहको व्यवस्था हटाएर ५ र ८ प्रतिशतको दुई तहमा ल्याइएको छ।

 

लगानीकर्तालाई के फाइदा?

नयाँ सीमाले बजारलाई केही हदसम्म खुला र गतिशील बनाउने अपेक्षा गरिएको छ। ४ प्रतिशतको अवरोध हटाइएकाले बजारलाई चलायमान हुन थप “स्पेस” मिल्नेछ भने लगानीकर्ताले कारोबारका लागि बढी समय पाउनेछन्।

 

कम्पनीगत सर्किट भने उस्तै

समग्र बजार सूचकमा परिवर्तन भए पनि व्यक्तिगत कम्पनीहरूको शेयर मूल्यमा लागू हुने १० प्रतिशतको दैनिक सीमा भने यथावत राखिएको छ। अर्थात्, कुनै पनि कम्पनीको शेयर मूल्य एकै दिनमा १० प्रतिशतभन्दा बढी घटबढ हुन पाउने छैन।

 

प्रि-ओपन सेसनमा पनि परिवर्तन

प्रि-ओपन सेसनमा मूल्य उतारचढावको सीमा २ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्‍याउने प्रस्ताव पनि गरिएको छ, जसले बजार खुल्नुअघि नै मूल्य निर्धारणलाई थप लचिलो बनाउने अपेक्षा गरिएको छ। समग्रमा, बढ्दो कारोबार रकम र लगानीकर्ताको सहभागितालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय अभ्याससँग मेल खाने गरी सर्किट ब्रेकर प्रणालीलाई परिमार्जन गरिएको हो। नयाँ व्यवस्थाले बजारलाई अझ पारदर्शी, लचिलो र लगानीमैत्री बनाउने विश्वास गरिएको छ।