२०८३ असार ३२ गते
यस आर्थिक वर्षको अन्तिम कारोबार दिनलाई नेप्सेले सामान्य सुधारसहित बिदा गरेको छ। यस हप्ता लगातार तेस्रो कारोबार दिन बजारले सकारात्मक लय कायम राख्न सफल भएको हो। बिहीबार नेप्से परिसूचक ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स २.९२ अंकले उकालो लागेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंकले वृद्धि भएको छ।
यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहीबार ३७१ वटा स्टकको ३९ हजार ५९५ पटकको कारोबारमार्फत ९४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीहरूमध्ये एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सर्वाधिक १४.९६ प्रतिशतले बढेको छ। त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १४.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने चिरख्वा हाइड्रोपावरको शेयरमूल्य पनि करिब १४.५ प्रतिशतले वृद्धि भएको छ। विपरीततर्फ, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ८.७७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सिंगटी हाइड्रो इनर्जी शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको २४ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ को २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम २२ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ।
उपसमूहतर्फ १३ मध्ये ९ उपसमूह हरियो रहँदा ४ उपसमूह भने घटेका छन्। म्युचुअल फण्ड उपसमूह सर्वाधिक १.६६ प्रतिशतले बढेको छ। लघुवित्त र निर्जीवन बीमा उपसमूहमा पनि १ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। यता वित्त, होटल तथा पर्यटन, जलविद्युत तथा उत्पादन तथा प्रशोधन उपसमूहका परिसूचक सामान्य अंकले ओरालो लागेका छन्।
प्रतिक्रिया