नेप्सेमा उछाल : आठ महिनाको रेकर्ड ब्रेक

२०८२ चैत १० गते

नेप्सेमा उछाल : आठ महिनाको रेकर्ड ब्रेक

साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक उल्लेख्य रूपमा उकालो लाग्दै करिब ८ महिनाकै उच्च विन्दुमा पुगेको छ । आज सूचक २३.८३ अंकले बढेर २९६० अंकमा कायम भएको हो, जुन गत साउन १३ यताकै उच्च स्तर हो । यद्यपि कारोबार रकममा भने सामान्य गिरावट देखिएको छ । अघिल्लो दिन १५ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज घटेर १४ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ ।

 

Advertisement:

Ad
Ad

आज बजारमा १३६ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ भने ११ कम्पनी स्थिर रहेका छन् । समूहगत रूपमा व्यापार समूह सबैभन्दा बढी ९.१२ प्रतिशतले उकालो लागेको छ । यस समूहअन्तर्गत विशाल बजार कम्पनीको मूल्य ९.९१ प्रतिशतले बढेपछि समग्र समूहमा सकारात्मक प्रभाव परेको हो । अन्य समूहहरूमा पनि अधिकांश हरियाली देखिएको छ । बैंकिङ ०.६७, विकास बैंक १.३८, फाइनान्स ०.५१, हाइड्रोपावर १.३२, लगानी ०.११ र उत्पादन तथा प्रशोधन ०.८६ प्रतिशतले बढेका छन् ।

 

तर केही समूहमा गिरावट पनि देखिएको छ । होटल तथा पर्यटन ०.१७, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.३८ र अन्य व्यापार समूह ०.१६ प्रतिशतले घटेका छन् । आज ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । तीमध्ये रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन् ।

 

गिरावटतर्फ भने फर्स्ट माइक्रोफाइनान्स सबैभन्दा धेरै ६.५६ प्रतिशतले घटेको छ । त्यसपछि मनकामना इन्जिनियरिङ हाइड्रोपावर ५.११ प्रतिशत र मेरो माइक्रोफाइनान्स ४.५३ प्रतिशतले घटेका छन् । कारोबार रकमका आधारमा राधि विद्युत्, एपीआई पावर, एचआईडीसीएल प्रमोटर सेयर, ङादी ग्रुप पावर र शिवम् सिमेन्ट अग्रस्थानमा रहेका छन् ।