नयाँ सरकार गठनपछि नेप्सेमा भारी गिरावट, कारोबार रकममा भने वृद्धि

२०८२ चैत १५ गते

नयाँ सरकार गठनपछि नेप्सेमा भारी गिरावट, कारोबार रकममा भने वृद्धि

काठमाडौँ। बालेन शाहको नेतृत्वमा सरकार गठनपछिको पहिलो कारोबार दिन नै सेयर बजारमा तीव्र गिरावट आएको छ। केहि दिनदेखि लगातार उकालो लागेको नेप्सेमा आइतबार भने करेक्सन आएको हो। यस दिन नेप्से परिसूचक ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा झरेको छ। बजार घटेपनि कारोबार रकम भने बढेर १५ अर्ब नाघेको छ।

 

Advertisement:

Ad
Ad

कारोबार भएका ३२६ कम्पनीमध्ये जम्मा ६ वटाको मात्रै शेयर मूल्य बढ्दा अधिकांश, अर्थात् २५९ भन्दा बढी कम्पनीको मूल्य घटेको छ। समग्र बजारमा ‘रेड जोन’ हावी रहँदा कतिपय समूह र कम्पनीमा प्यानिक सेलिङसमेत देखिएको छ। वित्त, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहमा विशेष गिरावट देखिएको छ भने सबै १३ उपसमूहका सूचकहरू ओरालो लागेका छन्। समाचार तयार पार्दासम्म कुनै पनि समूह हरियो देखिएको छैन।

 

यद्यपि, बजार घटेको दिनमै केही कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् भने कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। नयाँ सरकारप्रति बजारको यस्तो ‘चिसो प्रतिक्रिया’ किन आयो भन्ने प्रश्न उठेको छ। विश्लेषकहरूका अनुसार नाफा सुरक्षित गर्ने प्रवृत्ति, नीतिगत अनिश्चितता तथा लगानीकर्ताको मनोवैज्ञानिक दबाबजस्ता कारणहरूले बजारमा यस्तो गिरावट आएको हुनसक्ने संकेत गरेका छन्।