२०८२ चैत २६ गते
बिहीबार पनि सेयर बजार हरियालीमै बन्द भएको छ। अघिल्लो दिन बुधबार उकालो लागेको नेप्सेले सोही सकारात्मक लयलाई निरन्तरता दिँदै यस दिन पनि मजबुत सुधार देखाएको हो। यस दिन नेप्से परिसूचक ४८.७१ अंकले उकालो लाग्दै २८५१.२४ विन्दुमा पुगेको छ।
कारोबार रकममा पनि उत्साहजनक वृद्धि देखिएको छ। बुधबार ८ अर्ब ३१ करोड रुपैयाँमा सीमित कारोबार, बिहीबार बढेर ९ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ नाघेको छ। ३३८ वटा स्टकमा १ लाख ८ हजार ८६९ पटक कारोबार हुँदै २ करोड ७९ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्।
यस दिन ८ वटा कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले उल्लेख्य लाभ कमाएका छन्। त्यस्तै, हिम स्टार उर्जा कम्पनीको सेयर ९.५ प्रतिशतभन्दा बढीले उकालो लाग्दा हिमालयन रि इन्स्योरेन्स पनि ७.५ प्रतिशतभन्दा बढीले मजबुत देखिएको छ। विपरीत दिशामा भने एनआईसी एशिया ब्यालेन्स्ड फण्ड सबैभन्दा बढी ६.७४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो, जसको ४३ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि रिडी पावर कम्पनीमा ४१ करोडभन्दा बढी र हिमालयन रि इन्स्योरेन्समा करिब ४० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
उपसमूहगत रुपमा हेर्दा, सबै १३ वटै समूह हरियालीमै देखिएका छन्। ‘अन्य’ उपसमूह सर्वाधिक ३.४३ प्रतिशतले बढ्दा होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन समूह २ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। बैंकिङ, वित्त, लगानी, लघुवित्त र निर्जीवन बीमा समूहमा पनि १ प्रतिशतभन्दा माथिको वृद्धि देखिएको छ। समग्रमा, बजारमा लगानीकर्ताको आत्मविश्वास फर्किंदै गएको संकेत बिहीबारको कारोबारले स्पष्ट पारेको छ।
प्रतिक्रिया