२०८३ असार ०८ गते
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात शुक्रबार सामान्य सुधार देखिएको बजारमा सोमबार भने झिनो गिरावट आएको हो। सोमबार नेप्से परिसूचक १.४६ अंकले घटेर २७००.६५ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सामान्य कमी आएको छ। गत शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार ३५३ वटा स्टकको ९० हजार ८६२ पटक कारोबार हुँदा ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ बराबरको ८१ लाख ३८ हजार कित्ता शेयर किनबेच भएको छ।
सोमबार दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको हो। यी दुवै कम्पनी गत शुक्रबार नेप्सेमा सूचीकृत भई सोमबारदेखि दोस्रो बजार कारोबारमा आएका हुन्। यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब साढे ७ प्रतिशतले बढेको छ भने सोपान फर्मास्यूटिकल्सको शेयर मूल्य साढे ५ प्रतिशतले उकालो लागेको छ। घट्ने कम्पनीतर्फ भने कुनै पनि स्टकको मूल्य गिरावट ४ प्रतिशतभन्दा बढी देखिएन।
कारोबार रकमका आधारमा सोपान फर्मास्यूटिकल्स शीर्ष स्थानमा रह्यो। कम्पनीको ३७ करोड ४४ लाख ५६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार ३० करोड रुपैयाँभन्दा माथि पुगेको छ भने १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को करिब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका १३ उपसमूहमध्ये सोमबार ३ उपसमूह सकारात्मक बनेका छन् भने १० उपसमूह घटेका छन्। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले बढेको छ। अंकका आधारमा भने जीवन बीमा उपसमूह सबैभन्दा बढी ५६.२१ अंकले घटेको छ।
प्रतिक्रिया