२०८२ चैत १६ गते
काठमाडौँ। नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको गिरावट देखिएको छ। यस दिन नेप्से परिसूचक ४७.७१ अंकले घट्दै २८३१.३९ विन्दुमा झरेको छ।
यस दिन कारोबार रकममा पनि कमी आएको छ। आइतबार १५ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ३४१ स्टकको १ लाख ५९ हजार ३२८ पटकको किनबेच मार्फत १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँ बराबरको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर कारोबार भएको छ।
यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य झण्डै १० प्रतिशतले बढ्यो । तर सोलु हाइड्रोपावर भने सर्वाधिक ७.७९ प्रतिशतले घट्दै दबाबमा रह्यो ।
कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको ६८ करोड ४१ लाख रुपैयाँभन्दा बढीको किनबेच भयो। त्यसपछि ङादी ग्रुप पावर र शिवम् सिमेन्ट्समा करिब ४४ करोड रुपैयाँ बराबरको कारोबार हुँदा अपि पावर कम्पनीको कारोबार पनि ३८ करोड रुपैयाँभन्दा माथि पुगेको छ।
उपसमूहतर्फ भने सबै १३ उपसमूहका सूचक घट्दा व्यापार उपसमूह सबैभन्दा धेरै २.५६ प्रतिशतले खस्कियो । वित्त र ‘अन्य’ उपसमूहमा २ प्रतिशतभन्दा बढी गिरावट आयो भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा समूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।
प्रतिक्रिया