नेप्सेमा गिरावटसँगै कारोबार रकम पनि खुम्चियो

२०८३ जेठ २८ गते

नेप्सेमा गिरावटसँगै कारोबार रकम पनि खुम्चियो

काठमाडौँ।  बिहीबार नेप्से परिसूचकमा ओरालो लागेको छ। अघिल्लो दिन सामान्य सुधार देखिएको बजारले त्यसलाई निरन्तरता दिन नसक्दा नेप्से पुनः घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ८.१४ अंकले घट्दै २७२८.०३ विन्दुमा झरेको छ।  यसदिन कारोबार रकममा पनि कमी आएको छ। बुधबार ४ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा बिहीबार ३५० वटा स्टकको ५८ हजार ३९१ पटकको किनबेचबाट ३ अर्ब ९० करोड ६२ लाख रुपैयाँ बराबरको ९२ लाख ३१ हजार कित्ता शेयर कारोबार भएको छ।

 

Advertisement:

Ad
Ad

यस दिन सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य करिब ८.५ प्रतिशतले बढ्दा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। विपरीत रूपमा, सप्ताकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १३.५१ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा सिटि होटल अग्रस्थानमा रहेको छ। कम्पनीको २३ करोड ६३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसपछि सेन्ट्रल फाइनान्सको १७ करोड ५० लाख रुपैयाँभन्दा बढी र बुंगल हाइड्रोको १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

 

उपसमूहतर्फ १३ मध्ये दुई उपसमूह मात्र हरियालीमा रहे भने बाँकी ११ उपसमूह घटेका छन्। होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहमा सामान्य वृद्धि देखिएको छ। वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै १.४५ प्रतिशतले घट्दा व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।