२०८३ असार २९ गते
साताको पहिलो कारोबार दिन पनि नेप्से परिसूचक ओरालो लागेको छ। लगातार चौथो कारोबार दिन बजार घटेसँगै सोमबार नेप्से ३०.६० अंकले घटेर २,५७०.१८ विन्दुमा पुगेको हो।
बजार परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ। गत शुक्रबार ६ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ३६८ वटा स्टकको ५१ हजार २९५ पटक खरिदबिक्री हुँदा कुल ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यस अवधिमा ४ करोड १७ लाख २५ हजार कित्ता शेयर किनबेच भएका छन्। ऋणपत्र कारोबारमा वृद्धि भएकाले समग्र कारोबार रकम पनि बढ्न पुगेको हो।
सोमबार कुनै पनि स्टकको मूल्य ५.५ प्रतिशतभन्दा बढीले बढ्न सकेन। सबैभन्दा धेरै बढ्ने कम्पनी सामुदायिक लघुवित्त वित्तीय संस्था रह्यो, जसको शेयरमूल्य ५.३७ प्रतिशतले उकालो लाग्यो। विपरीत, उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ११.२८ प्रतिशतले घट्दै दिनकै सबैभन्दा बढी गिरावट हुने स्टक बन्यो।
यस दिन बजारका सबै १३ उपसमूह राताम्य भएका छन्। सबैभन्दा धेरै गिरावट व्यापार उपसमूहमा देखिएको छ, जसको परिसूचक २.३० प्रतिशतले घट्यो। साथै वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा तथा उत्पादन तथा प्रशोधन उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।
प्रतिक्रिया