२०८३ वैशाख २२ गते
काठमाडौँ। साताको दोस्रो कारोबार दिन नेप्से सामान्य सुधारसहित बन्द भएको छ। लगातार चार कारोबार दिन ओरालो लागेको नेप्से मंगलबार भने हरियालीमा फर्किएको हो। मंगलबार नेप्से परिसूचक ८.७८ अंकले बढ्दै २७१२.८६ विन्दुमा पुगेको छ।
परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा खुम्चिएको छ। सोमबार ४ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा मंगलबार ३३५ स्टकको ६२ हजार २५ पटक भएको खरिदबिक्रीबाट कुल ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँबराबरको ७७ लाख ३४ हजार कित्ता शेयर कारोबार भएको छ।
यस दिन अप्पर लाहोरखोला हाइड्रोको शेयरमूल्य सर्वाधिक ११.१६ प्रतिशतले बढेको छ। त्यस्तै सोलु हाइड्रोको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने धौलागिरी लघुवित्तको शेयरमूल्य ७ प्रतिशतले बढेको छ। यता फरवार्ड लघुवित्तको शेयरमूल्य भने सर्वाधिक ९.३१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा मंगलबार सोलुय हाइड्रो शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २३ करोड ५७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये मंगलबार ७ उपसमूह हरियालीमा बन्द भएका छन् भने ६ उपसमूहमा गिरावट देखिएको छ। यस दिन जलविद्युत उपसमूह सर्वाधिक १.०२ प्रतिशतले बढेको छ। यता विकास बैंक, वित्त, होटल तथा पर्यटन, लघुवित्त, निर्जीवन बीमा तथा व्यापार उपसमूहका परिसूचक भने सामान्य दबाबमा देखिएका छन्।
प्रतिक्रिया