२०८३ साउन ०१ गते
यस आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन नेपाली शेयर बजारले उत्साहजनक सुरुवात गरेको छ। पछिल्ला केही कारोबार दिनदेखि देखिएको क्रमिक सुधारले शुक्रबार थप गति लिँदै नेप्से परिसूचकमा उल्लेखनीय उछाल आएको हो। शुक्रबार नेप्से परिसूचक ७९.७४ अंकले बढेर २६७७.५४ विन्दुमा पुगेको छ। बजारसँगै अन्य सूचकहरू पनि हरियाली देखिएका छन्। सेन्सेटिभ इण्डेक्स ११.५१ अंक, फ्लोट इण्डेक्स ५.४५ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१३ अंकले वृद्धि भएको छ।
परिसूचकमा उल्लेख्य सुधार आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य मात्र बढेको छ। यस दिन ३३५ कम्पनीको ५८ हजार ९४ वटा कारोबारबाट १ करोड ३ लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन बजारमा ४ अर्ब ५६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
कारोबारमा श्रीनगर एग्रिटेक इन्डष्ट्रिज सबैभन्दा चम्किएको कम्पनी रह्यो। कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लाग्दै १२५ रुपैयाँ ७० पैसा बढेर ९६३ रुपैयाँ ७० पैसामा पुगेको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर मूल्य पनि करिब १५ प्रतिशतले उकालो लागेको छ भने शिखर पावर डेभलपमेन्टको शेयर करिब १२.५ प्रतिशतले बढेको छ। विपरीततर्फ, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै, १५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहँदै २२ करोड २३ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको कारोबार १७ करोड ७३ लाख रुपैयाँ नाघेको छ भने रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार पनि १५ करोड रुपैयाँभन्दा माथि पुगेको छ।
उपसमूहगत प्रदर्शन पनि सकारात्मक देखिएको छ। १३ मध्ये १२ उपसमूह हरियाली हुँदा उत्पादन तथा प्रशोधन उपसमूह ४.६० प्रतिशतको वृद्धिसहित सबैभन्दा धेरै उकालो लागेको छ। लगानी र जलविद्युत उपसमूहमा ४ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ भने वित्त तथा होटल तथा पर्यटन उपसमूह पनि ३ प्रतिशतभन्दा बढीले बढेका छन्। यस दिन म्युचुअल फण्ड उपसमूह मात्रै सामान्य अंकले ओरालो लागेको छ।
प्रतिक्रिया