२०८२ माघ १५ गते
काठमाडौँ । चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो ग्लोबल आइएमई बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सन्तोषजनक देखिएको छ । सार्वजनिक अपरिस्कृत विवरण अनुसार बैंकले ३ अर्ब २५ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा ६.५० प्रतिशत वृद्धि हासिल गरेको छ। बैंकको प्रतिशेयर आम्दानीमा पनि सामान्य सुधार हुँदै १७ रुपैयाँ नाघ्नुले लगानीकर्ताको दृष्टिमा बैंकको आकर्षण कायम रहेकोे संकेत गरेको छ ।
बैंकले कुल सञ्चालन आम्दानी र सञ्चालन नाफामा वृद्धि कायम राखेको छ। कुल सञ्चालन आम्दानी १० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि वृद्धि भएर ४ अर्ब २७ करोड रुपैयाँ नाघेको छ। यसले बैंकले गैर-ब्याज आम्दानीका स्रोतहरू-जस्तै सेवा शुल्क, कमिशन वा अन्य आयमार्फत आफ्नो आम्दानी संरचनालाई केही हदसम्म सन्तुलित बनाउने प्रयास गरेको देखिन्छ। तर दीर्घकालीन रूपमा बैंकको स्थायित्व भने अझै पनि ब्याज आम्दानीकै गुणस्तरमा निर्भर रहनेछ।
सार्वजनिक विवरण अनुसार बैंकको पूँजीगत अवस्था निकै सुदृढ देखिएको छ । ३८ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी, २६ अर्ब रुपैयाँभन्दा बढी रिजर्भ र उल्लेखनीय निक्षेप संकलनले बैंकलाई विस्तार र जोखिम व्यवस्थापन दुवैमा सहज बनाएको छ। बैंकमा ६ खर्ब ४७ अर्ब ५६ करोड रुपैयाँ निक्षेप छ । त्यस्तै बैंकको ४ खर्ब ६७ अर्ब बढी ऋण लगानी रहेको छ । उच्च निक्षेपले बैंकको तरलता अवस्था बलियो हुनुका साथै लगानी विस्तार गर्ने क्षमता पनि बढाउँछ । यसले बैंकलाई ठूला परियोजनामा लगानी गर्न र आर्थिक गतिविधि विस्तार गर्न सक्षम बनाउँछ ।
बैंकको कुल सम्पत्ति अहिले ६ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ जुन नेपालको बैकिङ क्षेत्रमै सबैभन्दा ठूलो हो । पुँजी पर्याप्तता कोष १२।१७ प्रतिशत छ जुन राष्ट्र बैंकको नियमनकारी सीमा भन्दा माथि हो ।
यद्यपि बैंकका केही आधारभूत सुचकमा भने दबाव देखिएको छ । बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी ३.३३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ८ अर्ब २९ करोड रुपैयाँ रहेको यस्तो आम्दानी घटेर ८ अर्ब २ करोड रुपैयाँमा सीमित हुनु सामान्य घटना होइन। यसले बैंकले कर्जा प्रवाह बढाए पनि त्यसबाट अपेक्षित प्रतिफल निकाल्न नसकेको संकेत गरेको छ । । ब्याजदरको दबाब, प्रतिस्पर्धा वा कर्जा संरचनामा आएको परिवर्तनले यस्तो अवस्था सिर्जना गरेको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।
ग्लोबल आइएमई बैंक अहिले विस्तार र स्थायित्वको बीचमा उभिएको देखिन्छ। छोटो अवधिमा नाफा र आम्दानी सुधार सकारात्मक भए पनि दीर्घकालीन दृष्टिले कर्जा गुणस्तर, ब्याज आम्दानीको स्थायित्व र जोखिम व्यवस्थापनमा बैंकले विशेष ध्यान दिनुपर्ने देखिन्छ। अब बैंकको वास्तविक परीक्षा ‘वृद्धि’लाई ‘दिगोपन’मा रूपान्तरण गर्न सक्ने क्षमतामा निर्भर रहनेछ।
बैंकको कर्जा लगानी विस्तारको गतिसँगै गुणस्तरमा भने केही सजग हुनपर्ने देखिएको छ । विविरण अनुसार बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ। यद्यपि वृद्धि सामान्य देखिए पनि यो प्रवृत्ति निरन्तर रह्यो भने बैंकको नाफामा प्रत्यक्ष असर पार्न सक्छ, किनकि खराब कर्जा बढेसँगै प्रोभिजनिङ खर्च पनि बढ्न जान्छ। यसले अहिले देखिएको नाफा वृद्धिलाई भविष्यमा खुम्च्याउने जोखिम रहन्छ।
सर्सर्ती हेर्दा यी हुन् बैंकका सवल पक्षहरु
१, नाफामा सन्तोषजनक वृद्धि
बैंकले ३ अर्ब २५ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा ६.५०प्रतिशत वृद्धि गरेको छ। अस्थिर वित्तीय वातावरणमा पनि नाफा बढाउन सक्नु सकारात्मक संकेत हो।
२, सञ्चालन आम्दानी र नाफा दुवैमा सुधार
कुल सञ्चालन आम्दानी ४.६९प्रतिशतले बढेर १० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। साथै सञ्चालन नाफा पनि बढेको छ। यसले बैंकले गैर-ब्याज आम्दानीका स्रोतहरू विस्तार गरेको देखाउँछ।
३, बलियो पूँजी आधार र रिजर्भ
३८ अर्बभन्दा बढी चुक्ता पूँजी र २६ अर्बभन्दा बढी रिजर्भ रहेको बैंकको पूँजीगत आधार निकै मजबुत देखिन्छ। यसले जोखिम वहन क्षमता उच्च रहेको संकेत गर्छ।
४, प्रतिशेयर आम्दानीमा सुधार
ईपीएस १६.०२ रुपैयाँबाट बढेर १७.०६ रुपैयाँ पुगेको छ, जसले लगानीकर्तालाई आकर्षित गर्न सक्ने आधार तयार गर्छ।
५, निक्षेप र कर्जा दुवैमा बलियो
६ खर्बभन्दा बढी निक्षेप र ४ खर्बभन्दा बढी कर्जा प्रवाहले बैंकको बजार उपस्थिति र विस्तार क्षमता बलियो देखाउँछ।
दुर्वल पक्षहरु
१,खुद ब्याज आम्दानीमा गिरावट
३.३३प्रतिशतले घटेको खुद ब्याज आम्दानीले बैंकको मुख्य आम्दानी स्रोतमा दबाब परेको देखाउँछ। यो दीर्घकालीन रूपमा चिन्ताजनक हुन सक्छ।
२,खराब कर्जा एनपीएलमा वृद्धि
एनपीएल ४.८६प्रतिशतबाट बढेर ४.९१प्रतिशत पुगेको छ। यद्यपि वृद्धि सानो देखिए पनि यो प्रवृत्ति निरन्तर रह्यो भने जोखिम बढ्न सक्छ।
३, कर्जा विस्तारसँगै गुणस्तर चुनौती
ठूलो मात्रामा कर्जा विस्तार भए पनि त्यसको गुणस्तरमा दबाब देखिन थालेको छ। यसले भविष्यमा प्रोभिजनिङ खर्च बढाउने सम्भावना रहन्छ।
४,नाफा वृद्धिको स्रोतमा दबाव
नाफा बढे पनि ब्याज आम्दानी घट्नुले नाफा वृद्धिको दिगो स्रोतमा दबाव सृजना भएको छ ।
प्रतिक्रिया