२०८३ जेठ २७ गते
काठमाडौँ । समुदायस्तरमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ८ दिने विशेष सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रमअन्तर्गत जेठ ३० र ३१ गते वडा नं. २२, काठमाडौँमा दुई दिने नि:शुल्क मानसिक स्वास्थ्य शिविर आयोजना गरिने भएको हो।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार विश्वभर प्रत्येक ८ जनामध्ये १ जना कुनै न कुनै मानसिक स्वास्थ्य समस्यासँग बाँचिरहेका छन्। नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी सामाजिक कलंक, पर्याप्त जनचेतनाको अभाव तथा विशेषज्ञ सेवामा सीमित पहुँचका कारण धेरै व्यक्तिहरू समयमै उपचारबाट वञ्चित हुने गरेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।
दुई दिने शिविरमा वरिष्ठ मनोचिकित्सक तथा क्लिनिकल मनोवैज्ञानिकहरूले प्रत्यक्ष तथा गोप्य रूपमा परामर्श सेवा प्रदान गर्नेछन्। साथै मानसिक तनाव, भावनात्मक तथा व्यवहारिक समस्याको प्रारम्भिक पहिचान गरी आवश्यक परेकाहरूलाई थप उपचारका लागि रेफरल प्रणालीमार्फत विशेषज्ञ सेवामा जोडिने व्यवस्था मिलाइनेछ।
कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय मानसिक स्वास्थ्य स्क्रीनिङ, विद्यार्थीहरूको भावनात्मक तथा व्यवहारिक अवस्थाको मूल्याङ्कन, शिक्षक तथा अभिभावकका लागि सहयोगात्मक सीप विकास तालिम, आत्महत्या रोकथाम, महिला मानसिक स्वास्थ्य, अटिजम तथा पुनर्स्थापनासम्बन्धी विशेष सचेतना कार्यक्रमसमेत सञ्चालन गरिनेछ।
विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, महिला, किशोरी, मानसिक तनाव भोगिरहेका व्यक्तिहरू, मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू, स्थानीय स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरू कार्यक्रमका प्रमुख लाभग्राही रहने जनाइएको छ।
जेठ ३० र ३१ गते बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने नि:शुल्क शिविरमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या वा जिज्ञासा भएका सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ। समुदायमा मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्दै स्वस्थ, सहयोगी र समावेशी समाज निर्माणमा कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया