कीर्तिपुरमा कारभित्र जलेका व्यक्ति सुरेशचन्द्र रहेको खुल्यो,बैंकको किस्ता तिरिनसक्दै अस्ताए

२०८३ साउन ०५ गते

कीर्तिपुरमा कारभित्र जलेका व्यक्ति सुरेशचन्द्र रहेको खुल्यो,बैंकको किस्ता तिरिनसक्दै अस्ताए

काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। मृतक कीर्तिपुर–ट्याङ्लाफाँट बस्दै आएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार नरदेवी स्थायी घर भएका श्रेष्ठको सनाखत परिवारका सदस्यहरूले गरेका हुन्।

 

Advertisement:

Ad
Ad

मंगलबार कीर्तिपुरस्थित ट्याङ्लाफाँटको चाँदनी चोकमा श्रेष्ठले चलाइरहेको बा।५ च ३०३८ नम्बरको सेतो रंगको किया कारमा अचानक आगलागी भएको थियो।प्रत्यक्षदर्शीका अनुसार कार चाँदनी चोकमा आएर रोकिएपछि सुरुमा गाडीभित्रबाट सानो आगो देखिएको थियो। केही क्षणमै आगो तीव्र रूपमा फैलिएको थियो।

 

घटनापछि प्रहरी र स्थानीयवासीले उपलब्ध अग्नि नियन्त्रण उपकरण प्रयोग गरी आगो निभाएका थिए। तर आगोले कारभित्र रहेका श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार आगलागीको कारण अझै खुलेको छैन। घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ। मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

 

अनुसन्धानका क्रममा उक्त कार २०६२ साल कात्तिक २७ गते नबिल बैंकबाट ऋण लिएर किस्ताबन्दीमा खरिद गरिएको र हाल उक्त गाडी बैंककै नाममा रहेको खुलेको प्रहरीले जनाएको छ। हाल घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले थप अनुसन्धान गरिरहेको छ।