काफल बेच्ने महिलामाथि नगर प्रहरीले गरेको दुर्व्यवहारप्रति माफी माग्दै वीरेन्द्रनगर नगरपालिकाले दियो १० हजार क्षतिपूर्ति

२०८३ जेठ ०७ गते

काफल बेच्ने महिलामाथि नगर प्रहरीले गरेको दुर्व्यवहारप्रति माफी माग्दै वीरेन्द्रनगर नगरपालिकाले दियो १० हजार क्षतिपूर्ति

कर्णाली । काफल बेच्ने महिलामाथि नगर प्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर नगरपालिकाले १० हजार रुपैयाँ क्षतिपूर्ति दिएको छ ।

कालीकोट घर भई हाल वीरेन्द्रनगर–३ सुर्खेत बस्ने अन्दाजी ४२ वर्षीया धमिला चौलागाईलाई नगर प्रहरीले काफल पोखाइदिँदै दुर्व्यवहार गरेको थियो । उक्त नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै जेठ ५ गते मङ्गलबार साँझ नगर प्रहरीद्वारा सडक पेटी र फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगरपालिका–६ स्थित सिटी बसपार्कमा डालामा काफल बेच्दै गरेकी चौलागाईमाथि भएको व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement:

Ad
Ad

सो कार्यमा संलग्न नगर प्रहरीलाई विभागीय कारबाही गरिने र पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति दिने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता टङ्कप्रकाश लामिछानेले जानकारी दिए । उनका अनुसार पीडित महिलालाई नगरप्रमुख मोहनमाया ढकालकै हातबाट क्षतिपूर्ति स्वरूपको रकम प्रदान गरिएको हो ।  


नगर प्रहरीले मङ्गलबार साँझ सिटी बसपार्कमा काफल बेच्दै गरेको महिलाको डालो समातेर घोप्ट्याउँदा काफल भुईँमा छरपस्ट भएको र ती महिला रोइकराइ गरेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगरप्रहरी र नगरपालिकाको सेवाबारे सर्वत्र आलोचना भएको थियो । त्यसलाई तत्काल सम्बोधन गरेपछि सबैले नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् ।