दशैं मान्न ससुराली गएका ज्वाइँले श्रीमतीसहित चार जनामाथि गरे खुकुरी प्रहार, तीन जनाको अवस्था गम्भीर

२०८३ कात्तिक १० गते

दशैं मान्न ससुराली गएका ज्वाइँले श्रीमतीसहित चार जनामाथि गरे खुकुरी प्रहार, तीन जनाको अवस्था गम्भीर

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका(३ च्यास्मीटारस्थित आहालेमा गएराति ज्वाइँले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा श्रीमतीसहित ससुराली परिवारका चार जना घाइते भएका छन्।

च्यास्मीटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले घरायसी विवादका क्रममा ससुरालीमा खुकुरी प्रहार गरेका हुन्।घटनामा उनकी ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासू सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका छन्।

Advertisement:

Ad

घाइते चारै जनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा प्राथमिक उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घाइतेमध्ये श्रीमती अञ्जना, सासू सेवन्ता र साली टेमिनाको अवस्था गम्भीर छ।

उनीहरूको टाउकोको पछाडिपट्टि र हातमा गहिरो चोट लागेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ। सालो नरेन्द्रको अवस्था भने सामान्य छ।

घटनालगत्तै फरार भएका आरोपित नइन्द्रकुमारलाई प्रहरी चौकी च्यास्मीटारबाट खटिएको टोलीले गएराति नै नियन्त्रणमा लिएको छ।

नेपाली सेनामा कार्यरत राई दशैं मनाउन घर आएका थिए। श्रीमतीसँगको सामान्य घरायसी विवादपछि राति घरभित्र सुतिरहेकै अवस्थामा उनले खुकुरी प्रहार गरेको स्थानीयवासीले बताएका छन्।

घटनाबारे थप अनुसन्धानका लागि टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रकाश बुढाथोकीले जानकारी दिए ।