हेटौडा सिमेन्टका कर्मचारीहरुले भेटे प्रचण्डलाई, उद्योगलाई घाटा रहित बनाई सञ्चालनमा ल्याउन पहल गरिदिन आग्रह

२०८२ साउन ०२ गते

हेटौडा सिमेन्टका कर्मचारीहरुले भेटे प्रचण्डलाई, उद्योगलाई घाटा रहित बनाई सञ्चालनमा ल्याउन पहल गरिदिन आग्रह

काठमाडौं । हेटौडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा भेट गरी उद्योगका समस्या र माग समेटिएको ध्यानाकर्षण पत्र बुझाएका छन् ।

 

Advertisement:

Ad
Ad

अध्यक्ष प्रचण्डसँगको भेटमा ट्रेड युनियनका प्रतिनिधिहरूले उद्योग सञ्चालनमा चरम लापरवाही भएको, कर्मचारीका मागहरु बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलापहरू भइरहेको उल्लेख गर्दै यस्ता गतिविधि रोक्न तथा उद्योग घाटा रहित रूपमा सञ्चालन गर्न पहल गरिदिन आग्रह गरे ।

 

सो अवसरमा अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्रीकालमा घाटामा गएका र रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउन सिंहदरबारमा सरोकारवालाहरुको पटकपटक बैठकहरू बसालेको स्मरण गर्दै हेटौडा सिमेन्ट उद्योगमा देखिएका समस्याहरू समाधान गर्न र ट्रेड युनियनका मागहरू सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

सरकारी उद्योग कलकारखानाहरुको पुर्नसंरचना र सुधारका निम्ति माओवादी केन्दले चासो र पहल लिंदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले श्रमिक वर्ग र देशको हितमा सकारात्मक पहल लिने विश्वास दिलाए ।